काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौँ महानगरपालिका-२४ मखनटोलमा आगलागीबाट क्षतिग्रस्त घरहरूको अवलोकन गरेकी छन् ।
बुधबार बिहान दयाराम श्रेष्ठको चारतले घरमा आगलागी भएको थियो । त्यसपछि सँगैका तीन वटा घरमा पनि आगो सल्किएको थियो । यसक्रममा एक जनाको मृत्युसमेत भएको छ ।
क्षति भएका घरको अवलोकनको क्रममा उपप्रमुख डंगोलले घरधनीहरू दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारीलगायतसँग छलफल गरिन् ।
ग्यास चुहिएर आगलागी भएको प्रारम्भिक विवरण आएको भन्दै उपप्रमुख डंगोलले भनिन्, ‘आगलागीका घटनाहरू धेरै जसो ग्यास चुहिएर हुने गरेका छन् । हामी ती कुरालाई पनि मध्यनजर गर्दै अनुमनलाई प्रभावकारी बनाउँछौँ ।’
डंगोलले महानगरपालिकाले नियमित अनुगमन गरिरहेको भन्दै आगामी दिनमा ग्यास कम्पनी र डिलरहरूमा पनि अनुगमन गर्ने जानकारी दिइन् ।
बुधबार आगलागीमा परेर श्रेष्ठको चारतले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ सोही घरमा एक महिलाको मृत्यु भएको हो ।