काठमाडौँ । सीटीइभीटीमा पढ्ने विद्यार्थीको लागि प्रवेश परीक्षा नलिई भर्ना लिने निर्णय खारेजको माग गर्दै नेकपा एसनिकट अनेरास्ववियूले ज्ञापन पत्र बुझाएको छ ।
अनेरास्ववियूले सीटीइभीटीका सदस्य सचिव महेश भट्टराईलाई कार्यालयमा नै पुगेर ज्ञापन पत्र बुझाएको हो । सीटीइभीटीको २०७ औँ बैठकले यसै शैक्षिक सत्रदेखि सीटीइभीटीद्वारा सञ्चालित कुनै पनि कार्यक्रम विना प्रवेश परीक्षा विद्यार्थी भर्ना लिने निर्णय गरेको थियो ।
उक्त निर्णयविरुद्ध अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त निर्णय खारेज गर्न माग गरेको हो ।
विना प्रवेश परीक्षा जीपीएको भरमा मात्र विद्यार्थी भर्ना लिँदा सामुदायिक विद्यालयबाट पास भई आएको विद्यार्थीहरू मारमा पर्ने,जिपिए सामुदायिकका भन्दा प्राइभेटबाट आएका विद्यार्थीहरूको बढी हुने र सीटीइभीटीमा पढ्ने अवसर पनि प्राइभेटका विद्यार्थीहरूले धेरै पाउने भन्दै हरेक विद्यार्थीहरूलाई समान ढंगले अवसर दिनको निम्ति प्रवेश परीक्षा अनिवार्य गरिनुपर्ने उनीहरूको माग छ ।
त्यस्तै परिषद्को निर्णयबाट गरिएको प्रवेश परीक्षा लिनु नपर्ने भनी गरिएको निर्णय तत्काल खारेज गरिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरेको छ । यदि त्यसो नगरे अनेरास्ववियू जुनसुकै हदमा जान सक्ने चेतावनीसमेत दिएको छ।
