काठमाडौँ। ‘लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकट’ सम्बन्धी विभिन्न ठोस प्रतिबद्धता र कार्यदिशासहित २० बुँदे घोषणापत्र जारी गर्दै ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सकिएको छ ।
मुस्ताङको लोमान्थाङमा पुगेर अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) प्रतिनिधिसहित नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले २० बुँदे घोषणापत्र जारी गरेका हुन् ।
घोषणापत्र जारी गर्दै अध्यक्ष लम्सालले लोकतन्त्र, मिडिया स्वतन्त्रता र जलवायु संकटबारे अब स्थानीय तहका सरकार, पत्रकार, नागरिक समाज, राजनीतिक दलका नेता, अन्तर्राष्ट्रिय प्रतिनिधि, श्रमिक संगठन, विकासकर्मी र मानव अधिकारकर्मी जाग्नुपर्ने बेला भइसकेको बताए ।
उनले कोरला नाका सञ्चालन र कालिगण्डकी करिडोर निर्माण शीघ्र सम्पन्न गर्न संघीय सरकारलाई आह्वानसमेत गरे ।
उनले प्रेस स्वतन्त्रतामाथि डिजिटल नियमनको नाममा भइरहेको आक्रमणको विरोध गर्दै कानुनी समीक्षा र समावेशी रूपमा संवाद गर्न माग गरे ।
मिडिया समिटमा काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङको लोमाङथाङसम्म विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी थिए ।