काठमाडौँ। काभ्रेपलाञ्चोकको पनौतीमा ४१ मिलिमिटर वर्षा भएको छ ।
पनौतीस्थित रोशीखोला केन्द्रमा १२ घण्टाको अवधिमा ४१ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मौसम विभागका अनुसार ४१ मिलिमिटर वर्षा भनेको मध्यम खालको हो । १० मिलिमिटर भन्दा बढी र ५० मिलिमिटर भन्दा कम पानी पर्नुलाई मध्यम खालको वर्षा भनिन्छ ।
भारतको बिहार आसपासबाट पानी पार्ने प्रणाली बागमती प्रदेश प्रवेश गरेको छ । त्यसैले बागमती प्रदेशका मकवानपुर, दोलखा, ओखलढुंगा, सिन्धुपाल्चोक लगायतका जिल्लामा थप वर्षा हुने सम्भावना छ ।
वर्षाका कारण पनौतीमा कुलोले बगाएर एक जना महिला बेपत्ता भएकी छिन् । बेपत्ता महिलाको खोजी कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।