काठमाडौँ । भारत र पाकिस्तानबीच आज (सोमबार) वार्ता हुँदैछ ।
दुई हप्ताअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच युद्ध सुरु भएको थियो ।
शनिवार मात्रै पूर्ण तहको युद्ध विराम घोषणा भएपछि दुवै देशका आपसी वार्ताबाट विवाद समाधान गर्ने उद्देश्यसहित युद्ध विराम गरेका दुई देशबीच पूर्व निर्धारित तालिका अनुसार आज वार्ता हुन लागेको हो ।
आज दिउँसो दुई देशका सैन्य उच्चधिकारीसहितको वार्ता तय भएको भारतीय विदेश मन्त्रालयले जानकारी दिएको छ । वार्ताको नेतृत्व भारतका सैन्य अपरेशन महानिर्देशक र पाकिस्तानका सैन्य अपरेशन महानिर्देशकले गर्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पछिल्लो पटक दुईदेशबीच सैन्य कारबाही हुन थालेपछि छिमेकी राष्ट्र नेपाल र चीनसहित अमेरिका लगायत युरोपियन देशहरूले विवादका विषयमा वार्ता गरेर अघि बढ्न दुवै देशलाई अपिल गरेका थिए । अमेरिकाले दुई देशबीच तत्काल युद्ध विरामसहित विवादको विषय वार्तामार्फत सुल्झाउन सुझाव दिँदै युद्ध विरामका लागि पहल गरेको थियो ।
अमेरिकाले दुई देशबीच वार्ताका माध्यमले कुरा नटुङ्गिए आफू मध्यस्थता गर्न तयार रहेको पनि बताएको थियो ।