काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मातहतका विभागलाई चालू आर्थिक वर्षका जारी आयोजना टुंगोमा पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार मन्त्रालय मातहत रहेका विभाग र आयोजना प्रमुखहरूसँग चालू आर्थिक वर्षका कामबारेको समीक्षा बैठकमा उनले सम्पन्न गर्न सकिने योजनाहरूको काममा कुनै पनि बहानामा ढिलाइ नगर्न सचेत गराए ।
कुनै पनि आयोजनामा केही समस्या भए त्यसलाई समाधानका लागि शहरी विकास मन्त्रालयले समन्वय गर्ने तर काममा ढिलाइ स्वीकार्य नहुने उनको भनाइ थियो ।
‘अब कुनै पनि बहाना चल्दैन । जनताले डेलिभरी चाहेका छन् । हामीले डेलिभरी दिनैपर्छ । काममा कहाँ कहाँ समस्या छ, समाधानका लागि मन्त्रालयको तहबाट गर्ने समन्वय हुन्छ, उनले भने, तर, कामहरू सन्तोषजनक देखिएको छैन । कामको गति बढाउनुस् । आयोजनाहरू छिटो छिटो सम्पन्न गरौँ ।’
गत शुक्रबार बसेको समीक्षा बैठकमा उपप्रधानमन्त्री सिंहले विभाग प्रमुखहरूलाई ३ दिनभित्र कामको गति बढाउने लिखित कार्य योजनासहित आउन निर्देशन दिएका थिए । आइतबार विभागीय प्रमुखहरूले आफ्नो कार्यालयले प्राप्त गरेको उपलब्धि र चालू कामबारे जानकारी गराएका थिए । अहिले कामको प्रगति कम देखिए पनि अब गति बढाउने बताएका छन् ।
उपप्रधानमन्त्री सिंहले बैठकमा गफ गर्ने तर परिणाम ननिस्कने प्रवृत्ति राम्रो नभएको भन्दै समीक्षा बैठकमा भएका कुराहरूलाई गम्भीरताका साथ पालना गर्दै परिणाम निकाल्ने गरी काम गर्न पुनः सचेत गराए । शहरी विकास मन्त्री सिंहले मन्त्रालय र मातहतका विभागबाट हुने काम समयमै सक्ने गरी गर्नुपर्नेमा उनको जोड थियो ।