काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दलित समुदायसँग सम्बन्धित सवालमा सरकार गम्भीर रहेको बताएका छन् ।
जातीय छुवाछूत र विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयन सुनिश्चित गर्न जोड दिँदै ‘दलित लाइभ्स म्याटर ग्लोबल एलायन्स’ र ‘ग्लोबल लिगल डिफेन्स फन्ड’ले आज यहाँ आयोजना गरेको ‘जस्टिस समिट २०२५’ कार्यक्रममा उनले भने, “छुवाछूत र जातीय विभेद अन्त्य गर्न सरकारले नीतिगत र कानुनी प्रतिबद्धता लिएको छ ।”
प्रतिनिधि सभाका सांसद सन्तोष परियारले संविधानले दलित समुदायका हक अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन पक्ष कमजोर रहेको टिप्पणी गरे । उनले भने, “राज्य अझै पनि दलितका मुद्दामा गम्भीर देखिँदैन, हामी यो विभेद अन्त्य नभएसम्म लडिरहनेछौँ ।” सांसद सीता मिजारले संघ, प्रदेश र स्थानीय तहले दलित समुदाय लक्षित विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै कार्यान्वयनको कमजोरीले समस्या उत्पन्न भएको बताए ।
दलित लाइभ्स म्याटर ग्लोबल एलायन्सका संस्थापक तथा अध्यक्ष प्रदीप परियारले दलित तथा सीमान्तकृत समुदायमाथि हुने संरचनागत विभेद, अन्याय र हिंसाको अन्त्यका लागि अर्थपूर्ण संवाद र सृजनात्मक पहल गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा संविधान, संघीयता, समावेशीकरण, दलित महिला र न्याय, तथा जातभन्दा परको मोर्चाबन्दीजस्ता विषयमा तीनवटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
ती कार्यपत्रमा कानुनविद्हरू, राजनीतिक दलका नेताहरू र नागरिक समाजका प्रतिनिधिहरूले टिप्पणी गर्दै जातीय विभेद अन्त्य गर्न राज्यका सबै संयन्त्र गम्भीर र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।