काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा वामपन्थी नेता प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
विभिन्न टुक्रामा विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत तथा लोकप्रिय बनाउने कठिन एवम् लामो संघर्षका क्रममा दिवंगत नेता नेपालको योगदानको स्मरण गरे ।
प्रदीप नेपाल बौद्धिकता, लेखन, तिक्ष्णता र सङ्गठन क्षमताका कारण बहु यामिक नेता भएको बताउँदै उनले दु:खद् निधनप्रति सिंगो पार्टी स्तब्ध भएको उल्लेख गरे । नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष नेपालले शोकमा परेकी उनकी धर्मपत्नी झुमा देवान नेपाल र छोरी डा. समीक्षा नेपालसहित शोक सन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना प्रकट गरे ।
प्रदीप नेपाल २०२६ मा विद्यार्थी राजनीतिमा संलग्न हुँदै प्रगतिशील तथा वामपन्थी आन्दोलनमा क्रियाशील भएर छोटो समयमा नै नेतृत्व क्षमताको विकास गर्दै पार्टीका विविध जिम्मेवारीलाई कुशलताका साथ पूरा गर्नुभएको स्मरण गरे ।
अध्यक्ष नेपालले साहित्यकारका रूपमा विभिन्न कृति प्रकाशित गर्दै लेखकको समेत पहिचान बनाएका दिवंगत नेता नेपालले कम्युनिष्ट आन्दोलनको विकास क्रममा महत्त्वपूर्ण भूमिका निर्वाह गरी समाज रूपान्तरणमा गरेको योगदानलाई उच्च सम्मान गर्नुपर्ने बताए । उनको शोषणरहित न्यायपूर्ण समाज निर्माणको सपनालाई पूरा गर्न र समाजवादी आन्दोलनलाई एकताबद्ध बनाउने प्रतिबद्ध उनले व्यक्त गरे ।