काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बैंक नोट बाहेक सुरक्षाका सबै सामग्री छाप्ने व्यवस्था नेपालमै सुरु भएको बताएका छन् ।
बुधबार गोरखापत्र दैनिकको १ सय २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले नोटबाहेकका सबै छपाइका सामग्री उत्पादन गर्न सक्ने प्रेसको व्यवस्था भइसकेको जानकारी गराए ।
जनशक्ति र वित्तीय व्यवस्थापन गरी प्रेस सञ्चालनको तयारी भइरहेको उहाँको भनाइ छ । पासपोर्टलगायत सुरक्षाका कुनै पनि सामग्री छपाईका लागि अब विदेश जानु नपर्ने उनको भनाइ छ ।
‘बैंक नोटबाहेक सबै चिज उत्पादन गर्न सक्ने प्रिन्ट गर्न सक्ने प्रिन्टिङ प्रेसको प्रबन्ध भइसकेको छ । म्यान पावरको हिसाबले प्रबन्ध गरेर, वित्तीय व्यवस्थापन गरेर हामी त्यो काम गर्दैछौँ । अबदेखि यस्ता चिजहरू छाप्नका लागि विदेश जानुपर्दैन । त्यो काम मन्त्रालयले सुरु गरिसकेको छ,’ उनले भने ।
मन्त्री गुरुङले चलचित्र विकास बोर्डको पुरानो ऐन विस्थापित गरेर नयाँ बनाउने प्रक्रिया सुरु गरेको बताए । बोर्डको नयाँ ऐन दर्ता भइसकेकाले पास भएर छिट्टै सञ्चालनमा ल्याइने उनले बताए ।
‘यो वर्षभित्र मन्त्रालयलाई धेरै कुरामा दुरुस्त बनाउँदै छौँ । चलचित्र विकास बोर्डको पुरानो ऐन थियो त्यसलाई हामीले दर्ता भइसक्या छ, त्यो पास हुन्छ । त्यसको यही वर्षदेखि बिल्डिङ बनाउने काम सुरु हुन्छ, आफ्नै स्टुडियो भवन हुन्छ,’ गुरुङले भने, ‘त्यसले चलचित्र विकासको क्षेत्रमा भएको अरु धेरै विकृतिहरूलाई हटाउँदै लगेका छौँ हामीले । र ठूलो राजश्व आर्जन गर्ने ठाउँमा पुगेका छौँ र इन्डस्ट्रिजलाई डेभलप गर्ने कुरामा हाम्रो मन्त्रालय अघि बढेको छ ।’