काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग गर्दै निजी क्षेत्रका प्रतिनिधिहरूले विमानस्थलको मुख्य प्रवेशद्वारामा प्रदर्शनसहित धर्ना दिएका छन् ।
लामो समयदेखि विमानस्थल पूर्णक्षमतामा सञ्चालनको माग गरिरहेका उद्योगी-व्यवसायीले माग सुनुवाइ नभएपछि बुधबार विरोध सभासहित धर्ना दिएका हुन् ।
प्रदर्शनमा सहभागीले अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन यसअघि गरिएका वाचा पूरा गर्न सरकारसँग माग गरेका छन् । संघ-संस्थाले विमानस्थलको प्रवेशद्वारमा एक घण्टा प्रदर्शन गरेका थिए । दबाबमूलक धर्ना कार्यक्रमको बेवास्ता नगर्न र अर्बौँ लगानी जोखिममा पर्दा राज्यले नदेखेजस्तै गर्नु विडम्बना रहेको उनीहरूको भनाई छ ।
रुपन्देहीका उद्योगी-व्यवसायीले एक वर्ष अघि पनि दबाबपूर्ण कार्यक्रम सञ्चालन गरेका थिए । सिद्धार्थ होटेल संघ नेपालका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ (सिपी)का अनुसार त्यसबेला १५ दिन विमानस्थल बाहिर धर्ना दिइएको थियो ।
त्यतिले मात्र दबाब नपुगेपछि व्यवसायीको प्रतिनिधिमण्डले काठमाडौँसम्म पुगेर सरोकारवाला मन्त्रीलाई दबाब दिएका थिए ।
विमानस्थल सञ्चालनका लागि मुलुकका सबै राजनीतिक दलका प्रमुख, पूर्व र वर्तमान प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएपछि दबाबपूर्ण आन्दोलनमा उत्रिनुपरेको उद्योग व्यापार संगठन, रुपन्देही (चेम्बर अफ कमर्श)को अगुवाइमा बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म विमानस्थलको मुख्य प्रवेशद्वार छेकेर धर्ना र प्रदर्शन गरिएको हो ।
धर्नामा दर्जनौँ संघसंस्थाहरु व्यानरसहित सहभागी थिए । सहभागीले विमानस्थल सञ्चालनको माग लेखिएका प्लेकार्ड समेत बोकेर धर्ना दिएको उद्योग–व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले बताए । यसअघि ज्ञापन पत्र, छलफलमार्फत विमानस्थल सञ्चालनका लागि दबाब दिए पनि सरकारले नसुनेका कारण बाध्य भएर धर्नामा उत्रिएको र नियमित उडानको वातावरण नबनाए थप आन्दोलन चर्काउने जनाए ।
अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशद्वार छेकेर उनीहरूले ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले विमानस्थल सञ्चालनका लागि आवश्यक म्यानपावर, भिसा र मेडिकल सेन्टर तत्काल खोल्न माग गरेका थिए ।
चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले विमानस्थल के कारणले ठप्प भइरहेको छ भन्नेबारे सरकारले जानकारी दिनुपर्ने बताए । रुपन्देहीको निजी क्षेत्रले लगातार विमानस्थल नियमित सञ्चालनको माग गरे पनि सरकारले नसुनेको उनले दुखेसो गरे ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले सरकारले पटक–पटक अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने वाचा गरेर स्थानीय बासिन्दा र निजी क्षेत्रको आँखामा धुलो छ्याप्ने काम गरिरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कुलप्रसाद न्यौपाने, सिद्धार्थ सञ्जाल रुपन्देही अध्यक्ष अनिलकुमार ज्ञवाली, उद्योग व्यापार संगठनका पूर्व अध्यक्ष नारायणप्रसाद भण्डारी, संगठनकी महासचिव लक्ष्मी अधिकारी, लुम्बिनी इँटा उद्योग व्यवसायी संघका अध्यक्ष अजय कुमार गुप्ता, सिद्धार्थनगर वडा नम्बर ४ का अध्यक्ष मुक्तिनाथ यादव, मोबाइल व्यवसायी संघका अध्यक्ष बैजनाथ गुप्ताले बोल्दै निजी क्षेत्र उठ्नै नसक्ने अवस्थामा पुग्दासमेत विमानस्थल सञ्चालनमा सरकारले खेलाँची गरिरहेको जनाएका छन् ।