काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको दाबी गरेका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालमा स्वास्थ्य जनशक्तिको अभाव नरहेको भन्दै टिकाउने कुरामा भने कठिनाइ रहेको बताए ।
उनले काठमाडौँभित्र स्वास्थ्य संस्थाहरूमा निर्वाह हुने जनशक्ति रहेको भए पनि काठमाडौँ बाहिर भने जनशक्तिको पूर्ण रूपमा अभाव रहेको बताए । उनले संघीय अस्पतालमा नौ वटा दरबन्दी भएको ठाउँमा एक जना मात्रै चिकित्सक रहेको जानकारी दिए ।
उनले जनशक्ति उत्पादन गर्ने, नेपालभित्रै टिकाउने, काठमाडौँ बाहिर दूर दराजमा स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति खटिने स्थिति बनाउन सक्नुपर्ने बताए । त्यसका निम्ति उत्पादन प्रक्रियालाई सहज बनाउन जरुरी रहेको बताए ।
यसैगरी, मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको बिमा प्रणाली लागु गर्न सकेमा आम नागरिकले कम पैसामा गुणस्तरीय सेवा पाउन सक्ने बताए। साथै उनले यो वर्ष नयाँ-नयाँ स्वास्थ्यका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिए।
यसैगरी, मन्त्री पौडेलले सरकारले सात वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गरेको उल्लेख गरे। उनले सात वटै प्रदेशमा सरकारले प्रत्यारोपण सेवा विस्तार गरिरहेको बताए । उनले राज्यले स्वास्थ्यमा प्राथमिकता निर्धारण गरेको भए चार प्रतिशत लगानीले नपुग्ने उल्लेख गरे।
त्यस्तै, उनले यो वर्ष वीर अस्पतालको दुवाकोटमा अस्पताल निमार्णका लागि डिपिआर गर्न बजेटमा समावेश गराएको जानकारी दिए ।
उनले नेपालमा गुणस्तरीय जनशक्ति उत्पादन गर्दै आए पनि नेपालमा टिकाउन मुस्किल पर्ने बताए । यो समस्या रोक्न सरकारले ध्यान दिनुपर्ने बेला आएको जिकिर गरेका छन् ।