काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले देशमा फजुल खर्चका आयोजनाहरूमा बजेट हाल्न माओवादी पार्टी र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्रपङ्क्तिमा रहेको बताएका छन् ।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले सोमवार विपक्षी दलका नेता ‘प्रचण्ड’ले सरकारमाथि लगाएको आरोपको प्रतिवाद गरेका हुन् ।
भट्टराईले दमकको बिजनेस टावरको विरोध गर्ने माओवादीले देशैभर भ्यु टावर र शहीद गेटका नाममा बजेट खेर फालेको दाबी गरे । उनले सुनसरी मोरङ र झापाको जनसङ्ख्या तथा भारतको समेत सम्बन्धका कारण दमकको व्यापारिक टावर भविष्यमा व्यापारिक केन्द्र बन्न सक्ने बताए ।
उनले माओवादी पहिलो पटक सरकारमा गएकै बेला युवा स्वरोजगार कोषबाट बिना धितो र बिना कागज सहकारीका नाममा गएको करोडौँ रकम अहिले पनि महालेखाले बेरुजुमा राखेको स्मरण गराए ।
नेता भट्टराईले विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले हटाउँदा प्रचण्डको मुटुमा किला ठोकेजस्तो किन भएको भनी प्रश्न समेत गरे ।
उनले भने, ‘सरकारले एउटा सहसचिव सरहको कर्मचारीलाई काममा ट्युनिङ मिलेन भनेर मन्त्रीको प्रस्तावमा हटायो तर तपाईँको मुटुमा किला ठोके जस्तो किन भयो ? यो सरकारले त एउटा सहसचिव सरहको कर्मचारी हटायो तपाईँले त प्रधान सेनापति नै हटाउनुभएको होइन ? एक पटक सम्झिनुस् त कसरी हटाउनु भएको थियो ? अस्तिकै कार्यकालमा पनि मुख्य सचिव हटाएर हुँदै नभएको पद राष्ट्रिय सुरक्षा परिषद्को सल्लाकार पोष्ट खडा गर्नुभयो । तपाईँले अर्को मुख्य सचिव ल्याउनु थियो, अनि त्यसो गर्न मिल्थ्यो ?’
भट्टराईले सरकारको नीति तथा कार्यक्रम विगतको जस्तो भद्दा र कार्यान्वयन नहुने खालको नभई यस पटक फरक ढंगले आएको बताएका छन् ।