काठमाडौँ। हेटौँडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरी गाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ ।
मंगलबार बिहान हेटौडा पुगेको भूगर्भविद् नारायण अधिकारी र कृष्ण पाण्डेसहितको टोलीले गाडी भासिएर हराएको स्थानको अध्ययन सुरु गरेको हो ।
विभागका भूगर्भविद् नारायण अधिकारीले टोलीले घटनास्थलको भौगोलिक अवस्था, भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र र घटनाको कारणबारे बारेमा अध्ययन गर्ने जानकारी दिए ।
टोलीले घटनास्थलको सतह मुनि माटो बनोट तह तथा भूमिगत जलको विषयमा अध्ययन गर्ने गरी केही उपकरण प्रयोग गर्ने तयारी गरेको छ ।
गत शुक्रबार हेटौँडा उपमहानगरपालिका–१६ र १७ को सिमाना नजिकै गैरीगाउँको भित्री सडकमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको बलेरो गाडी जमिन भासिएर एक्कासी बेपत्ता भएको थियो ।
लगातार ३ दिन खोज्दासम्म गाडीको अवस्था पत्ता नलागेपछि हेटौँडा उपमहानगरपालिकाले भूगर्भविद्को सहयोग मागेको हो ।