काठमाडौँ । नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझावसहित छलफलमा सहभागी भई समर्थन जनाउने निर्णय गरेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको संसदीय दलको बैठकले नीति तथा कार्यक्रममा राष्ट्रिय आवश्यकता समेटिएकाले समर्थन गर्ने निर्णयसमेत गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे बैठकले नीति कार्यक्रम सम्बोधन गर्ने गरी आगामी बजेट तर्जुमा गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको जानकारी दिए । बैठकले विधेयक निर्माणको गतिलाई तीव्र बनाउन सक्रिय ढंगले संसद् र संसदीय समितिमा भूमिका खेल्ने निर्णयसमेत गरेको उनले बताए ।
यस्तै, नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता जाहेर गरिएको छ । बैठकले भारतको उडिसास्थित केआइआइटीमा अध्ययनरत नेपाली छात्राको निधन र जम्मुकस्मिरस्थित पलहगाममा भएको घटनाको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेको छ ।
यस्तै, संविधानसभा सदस्य तीर्थराम डंगोलको निधनमा शोक प्रस्ताव पारित गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिए । बैठकमा २० भन्दा बढी सांसदहरूले नीति तथा कार्यक्रम र समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए ।