काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने संकल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएका छन् ।
तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले संसद् पहिलो दल बन्ने संकल्पका साथ अघि बढेको बताए । “बि.सं. २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ । यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भने ।
‘माओवादीकै नेतृत्वमा भ्रष्टाचारविरुद्धको क्रान्ति’
यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन् ।
“सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ । बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तर्राष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको संकल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, उनले भने ।