काठमाडौँ । हरेक वर्षजस्तै यसपालि पनि अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा उत्साहपूर्वक मनाइएको छ । बिहीबार राजधानी काठमाडौँ लगायत देशभर विभिन्न कार्यक्रम, र्याली र नारासहित दिवस मनाइयो । मजदुर संगठनहरुद्वारा विविध कार्यक्रम गरिए, राजनीतिक दलहरूसमेत सडकमा उत्रिए, र देशका शीर्ष नेतृत्व–राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले शुभकामना सन्देश दिए । तर विडम्बना, दिनको चमक दमक र भाषणबाजीबीच पनि मजदुरहरूको वास्तविक अवस्था भने अझै उस्तै छ–कष्टकर, असुरक्षित र बेवास्तामा परेको !
नेपालमा मजदुर दिवसको इतिहास झन्डै आठ दशक पुरानो भए पनि श्रमिकको अवस्था खासै फेरिएको छैन । २००७ सालमा सुरु भएको मजदुर आन्दोलनको सम्झनामा यो दिवस मनाइँदै आइएको थियो तर अहिले पनि श्रमिकहरू न्यून ज्यालामा, अस्थायी रोजगारीमा र सामाजिक सुरक्षाबाट टाढा रहेका छन् ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले अझै निराशाजनक तस्बिर प्रस्तुत गर्छ । प्रतिवेदन अनुसार देशभर नियमित रोजगारीमा संलग्न श्रमिकको संख्या ११ प्रतिशतले घटेको छ । खासगरी औपचारिक क्षेत्रका प्रतिष्ठानमा स्थायी रोजगारीको सम्भावना घट्दै गएको र श्रम ऐन कार्यान्वयनमा गम्भीर चुनौती देखिएको जनाइएको छ ।
वर्तमान अवस्थामा अधिकांश श्रमिक अस्थायी, करार, समयगत वा आंशिक श्रमिकका रूपमा कार्यरत छन् । उनीहरूलाई न त सामाजिक सुरक्षाको प्रत्याभूति छ, न त भविष्यको सुनिश्चितता । नियमित र दीर्घकालीन रोजगार नपाउँदा श्रमिकहरूको जीवनस्तरमा अपेक्षित सुधार आउन नसकेको हो ।
अन्तर्राष्ट्रिय सन्दर्भमा हेर्दा पनि मजदुर दिवसले ऐतिहासिक सन्देश बोकेको छ । सन् १८८६ मे १ मा अमेरिकाको सिकागो सहरमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरूले ऐतिहासिक आन्दोलन गरे । त्यस आन्दोलनको सम्झनामा सन् १८९० देखि मे १ लाई अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मनाउन थालिएको हो ।
नेपालमा मजदुरहरूको अवस्था
नेपालमा मजदुर दिवसलाई राष्ट्रिय मान्यताको रूपमा सरकारले सार्वजनिक बिदा दिने परिपाटी बनाएको छ । तर यथार्थमा, सरकारका नीति तथा श्रमसम्बन्धी कानुनी प्रबन्धहरू कार्यान्वयनमा कमजोर देखिन्छन् ।
यस दिन मजदुरहरूको योगदानको चर्चा गरिन्छ, उनीहरूलाई समाज र राष्ट्र निर्माणका मेरुदण्डका रूपमा सम्मान गर्ने भनाइहरू दोहोरिन्छन् । तर वास्तविकतामा उनीहरूको श्रमको मूल्याङ्कन अझै नगन्य छ । निर्माण क्षेत्र, कृषि, घरेलु काम, सेवा क्षेत्रलगायत सबै क्षेत्रमा श्रमिकहरू दिनरात खटिए पनि उनीहरूलाई न्यूनतम पारिश्रमिक पाउनसमेत सङ्घर्ष गर्नुपरेको अवस्था छ ।
मजदुर दिवसको दिन भाषण, नारा जुलुस र सांस्कृतिक कार्यक्रमले राजधानी र प्रमुख सहरहरू रङिन्छन् । तर यिनै रङहरूका छायाँमा हजारौँ मजदुरहरूको जीवन अझै कालो छ–काम पाउन सङ्घर्ष, पाएको काममा सम्मान र सुरक्षाको अभाव, र भविष्यप्रति अनिश्चितता ।
यस परिप्रेक्ष्यमा, मजदुर दिवस केवल एउटा उत्सवका रूपमा सीमित नहोस् भन्ने चाहना आजको प्रमुख सन्देश हुनुपर्छ । दिवसको वास्तविक सार तब मात्रै सार्थक हुन्छ, जब मजदुरहरूको जीवनस्तरमा ठोस सुधार आउँछ, जब श्रम ऐनका प्रावधानहरू कडाइका साथ लागू हुन्छन्, र जब श्रमिकहरूले कामको सुरक्षा, पारिश्रमिकको न्याय र सामाजिक सम्मान पाउँछन् । मजदुर दिवसको चमकसँगै अब राज्य, नीति निर्माता र रोजगारदाताहरूले पनि गम्भीर आत्म समीक्षा गर्नुपर्ने बेला आएको छ ।
के वास्तवमै हामी मजदुरको श्रमको कदर गरिरहेका छौँ त ? आज देशभर मजदुर दिवस धूमधामका साथ मनाइयो तर वास्तविक मजदुरहरूलाई भने दिवस छाएको देखिएन ।