काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सँग नेपालका लागि जापानका राजदूत मायादा तोरुले शिष्टाचार भेट गरेका छन्।
बुधबार महानगर कार्यालयमा भएको भेटमा सहरी विकास र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको हो।
भेटमा दुवै पक्षबीच सहरी पूर्वाधार निर्माण, विकास व्यवस्थापन र सुविधा वितरणसम्बन्धी अनुभव र अभ्यासको आदानप्रदानबारे कुराकानी भएको महानगरले जनाएको छ।
प्रमुख साहले काठमाडौँको सांस्कृतिक पहिचान अद्वितीय रहेको बताउँदै मूर्त सम्पदा, मौलिक खानपान र सामाजिक जीवनशैलीबीचको सम्बन्धबारे जानकारी गराएका थिए।
त्यस्तै, राजदूत तोरुले जापान र काठमाडौँलगायतका सहरहरूबीच सहरी आचरणसम्बन्धी ज्ञान, सीप र प्रविधिको आदानप्रदानको प्रशस्त सम्भावना रहेको बताए।
दुवै पक्षले भविष्यमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।