काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विदेशमा सिकेका ज्ञान, सीप, अनुभव र पुँजी प्रयोग गरेर स्वदेशको विकासमा योगदान गर्न आग्रह गरेका छन् ।
नेपाली काँग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रवासमा नेपाली सरकारको दायित्व र जनसम्पर्क समितिहरूको भूमिका’ विषयक कार्यक्रममा सभापति देउवाले देशको विकासमा सबैको योगदान आवश्यक रहेको बताए ।
त्यसका लागि आवश्यक नीतिगत परिवर्तनका लागि आफू तयार रहेको उनको भनाइ छ ।
‘विदेशमा हासिल गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई स्वदेशमा लगाएर देशको तीव्र आर्थिक सामाजिक विकास गराउन के कस्ता नीतिगत परिवर्तन गराउनुपर्नेछ, निर्धक्क भन्नुहोस्, राष्ट्रिय सहमति गराएर कार्यान्वयन गराउनेछौँ,’ देउवाले भने ।
उनले नेपालमा लोकतन्त्र बचाउन विदेशमा रहेका शिक्षित, अनुभवी, परिश्रमी नागरिकको आवश्यक रहेको भन्दै उनले पार्टीलाई निरन्तर सघाउन आग्रह गरेका छन्।
विश्वको जुनसुकै कुनामा रहे पनि नेपालीहरू प्रति सम्मान हुने वातावरण सिर्जना गर्नुपर्ने बताएका देउवाले विदेशमा रहेका नेपालीलाई सक्रिय बनाएर आइपरेका समस्या समाधान गर्न प्रयास गरिने विचार व्यक्त गरे ।