काठमाडौँ । अखिल नेपाल महिला संघअन्तर्गतको केन्द्रीय युवा कमिटीले बुधबार राष्ट्रिय युवा महिला भेलाको आयोजना गर्दै छ ।
अमेनसंघले मंगलबार आलोकनगरस्थित केन्द्रीय कार्यालयमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा सो राष्ट्रिय युवा भेलाको जानकारी दिएको छ ।
केन्द्रीय युवा कमिटीकी अध्यक्ष बिन्दु अधिकारीले युवालाई बढीभन्दा बढी संगठित गरेर महिला आन्दोलनमा युवाको सशक्त भूमिका निर्वाह गर्न अनेमसंघले युवा कमिटी गठन गरेको जानकारी दिइन्।
अध्यक्ष अधिकारीले भनिन्, “एउटा महिलामा युवा उमेर समूहका विभिन्न खालका चुनौतीहरू समय व्यवस्थापनदेखि, आफ्नो करियर विकासदेखि सामाजिक, राजनीतिक कुराहरू र आफूलाई त्यसमा नेतृत्वदायी भूमिकामा ल्याउनका लागि उहाँहरूको समय व्यवस्थापन गर्न कठिन र चुनौतीपूर्ण भएता पनि उहाँहरूलाई उत्साहित गर्न संगठनमा लाग्नका लागि प्रेरित गरिरहेको छ ।”
“समान सहभागीताका लागि सुदृढ संगठन” अमेनसंघको मूल नारा रहेको भन्दै उनले राष्ट्रिय युवा महिला भेलाका लागि मुख्य सात वटा एजेन्डा तय भएको जानकारी दिइन् ।
‘उत्पादन, उद्यमशीलता र रोजगारीमा युवा महिलाहरूको अवस्था र सम्भावना’, ‘युवा महिलाको नेतृत्व, सशक्तीकरणका अभ्यास र भावी रणनीति’, ‘प्रगतिशील संस्कृति, सामाजिक रूपान्तरण र युवा महिला’, ‘राजनीतिक दल तथा जनसङ्गठनमा युवा महिला नेतृत्व र लैंगीक समानताको सवाल’, ‘राज्यका युवा महिला केन्द्रित वर्तमान नीति कार्यक्रम र प्रभावकारिता’, ‘जलवायु परिवर्तन, आप्रवासन र सेवा अर्थतन्त्रले युवा महिलामा पारेको प्रभाव र अनुकूलनको अभ्यास’, ‘प्रविधिको विकासले युवा महिलामा पारेको प्रभाव, सम्भावना र चुनौती’ विषयमा राष्ट्रिय भेलामा छलफल गरिने उनको भनाइ छ ।
उनले छलफलबाट प्राप्त सुझाव एवम् निष्कर्ष संकलन गरेर प्रक्रियागत रूपमा राज्यका नीति निर्माण तहसम्म पुर्याउन पहल गरिने बताइन् । यससँगै नेकपा (एमाले)को केन्द्रीय कमिटीमा ३० प्रतिशत युवा सहभागिता सुरक्षित गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।
उनले भेलामा सात प्रदेश तथा ७७ वटै जिल्लामध्ये प्रत्येक जिल्लाबाट तीन जना प्रतिनिधि सहभागी हुने जानकारी दिइन् ।