उर्लाबारी (मोरङ)। गस्ती कार्यमा सहजता पुर्याउने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिकाले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई दुई थान साइकल प्रदान गरेको छ।
नगर प्रवक्ता भिष्मराज बुढाथोकीका अनुसार, इलाका प्रहरी कार्यालयको मागका आधारमा पालिकाले स्वचालित (गियरयुक्त) साइकल हस्तान्तरण गरेको हो। प्रहरी कार्यालयले चार वटा साइकलको माग गरे पनि हाललाई दुई वटा साइकल उपलब्ध गराइएको बुढाथोकीले जानकारी दिए।
उनका अनुसार, स्थानीय सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन र प्रहरीलाई नियमित गस्तीमा सहयोग पुर्याउन साइकल प्रदान गरिएको हो। उर्लाबारी नगरपालिकाले सुरक्षासम्बन्धी कार्यमा सहयोग गर्न तत्पर रहेको भन्दै प्रवक्ताले आगामी दिनमा थप समन्वय गरेर आवश्यक उपकरणहरू उपलब्ध गराइने बताए।