काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा रोएल च्यालेन्जर्स बेंगलुरु विजयी भएको छ । मुल्लानपुरमा आइतबार भएको खेलमा बेंगलुरुले पञ्जाव किङ्समाथि ७ विकेटको फराकिलो जित निकालेको हो ।
जितपछि बेंगलुरु १० अंकमा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष र देल्ली क्यापिटल्स दोस्रो स्थानमा कायम छन् । हारपछि पञ्जाव किङ्स चौथो र लखनऊ सुपर जाइन्ट्स पाँचौँ स्थानमा झरेका छन् । उनीहरूको पनि समान १० अंक छ ।
पञ्जावले दिएको १५८ रनको लक्ष्य बेंगलुरुले १८.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । उसको जितमा बिराट कोहलीले नटआउट ७३ रनको योगदान गरे । ५४ बलको सामना गरेका उनले एक छक्का र ७ चौका प्रहार गरे । देवदत्त पाडिक्कलले ६१ रन बनाए । ६ रन जोड्दा अर्का ओपनर फिल सल्टलाई व्यक्तिगत एक रनमा गुमाए पनि कोहली र पाडिक्कले दोस्रो विकेटका लागि १०३ रनको साझेदारी गर्दै जितको आधार तयार पारेका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १५७ रनको मध्यम योगफल तयार पारेको थियो । उसका लागि प्रश्रृम सिंहले ३३, शशांक सिंहले ३१ र जोश इंग्लिसले २९ रन बनाए ।
बेंगलुरुका लागि क्रुनाल पाण्डेय र सुयश शर्माले समान २ तथा रोमारियो शेफर्डले एक विकेट लिए ।
आइपिएलमा आजै राति मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच खेल हुनेछ ।