लुम्बिनी भगवान् गौतम बुद्धको पवित्र जन्मस्थल हो। ईसापूर्व ६२३ मा यहाँको सुन्दर र पवित्र बगैंचामा माता मायादेवीको कोखबाट बुद्ध धर्मका प्रणेता, शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्म भएको थियो। उनले जन्मनासाथ सात पाइला हिँड्दै मानवजातिका लागि यही ठाउँबाट युगान्तकारी उद्घोष गरेका थिए। यो पावन भूमि अहिले विश्वभरका बौद्धमार्गी र शान्तिप्रेमीहरूका बीचमा विश्व शान्तिको मुहानका रूपमा परिचित छ। सन् १९९७ देखि यो स्थान विश्व सम्पदा सूचीमा सूचीकृत भएको छ। हरेक वर्ष विश्वभरबाट लाखौं तीर्थयात्री, पर्यटक, र अध्येताहरू लुम्बिनीको भ्रमण गर्छन्।
विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि लुम्बिनी अत्यन्त महत्त्वपूर्ण तीर्थस्थल हो। मायादेवी र भगवान् बुद्धप्रति आस्था राख्ने भएकाले हिन्दूहरूका लागि पनि लुम्बिनी महत्त्वपूर्ण धार्मिक गन्तव्य हो। यसमा कसैको विवाद छैन। लुम्बिनीमा नेपालका विभिन्न स्थान र विदेशबाट समेत पर्यटकहरू आउने प्रमुख गन्तव्य हो। यसले नेपालको पर्यटन र रोजगारी क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको नाम लिँदा लुम्बिनी औंलामा गनिने स्थानमा पर्छ। यही लुम्बिनीको नामबाट प्रदेश नं. ५ को नामकरण पनि लुम्बिनी प्रदेश राखिएको छ।
लुम्बिनी भ्रमण सुन्दा जति रमणीय लाग्छ, भगवान् गौतम बुद्धको जन्मस्थान मायादेवी मन्दिरभित्रको जन्मस्मारक शिला र मायादेवीको मूर्ति त्यति नै मनमोहक छ। यो सुन्दर मन्दिरभित्र प्रवेश गरेपछि जस्तोसुकै अवस्थामा रहेको मानिसको मन पनि शान्त हुन्छ। शीतलताको अनुभव हुन्छ। मायादेवी मन्दिरको छेउमा अशोक स्तम्भ छ। यो स्तम्भ ईसापूर्व २४९ मा सम्राट अशोकले स्थापना गरेको किंवदन्ती छ। यस स्तम्भमा कुँदिएको शिलालेखले गौतम बुद्धको लुम्बिनीमा जन्म भएको ऐतिहासिक प्रमाण दिन्छ। यो शिलालेखलाई अत्यन्त महत्त्वपूर्ण र आधिकारिक ऐतिहासिक अभिलेख मानिन्छ।
मायादेवी मन्दिरको छेउमा पुष्करिणी पोखरी छ, जहाँ भगवान् गौतम बुद्धले नुहाएको किंवदन्ती छ। पुष्करिणी पोखरी नजिकैका रूखहरूको तल सुन्दर चौतारी बनाइएको छ। यहाँ बसेर पाँच मिनेट मात्र ध्यान गर्दा पनि अद्भुत अनुभूति हुन्छ। प्रकृतिका ठूला-ठूला पीपल, पाखरी लगायतका रूखहरूको छहारीमा बसेर आँखा बन्द गरी आफैंमा हराउँदा आहा ! कति मिठो अनुभव हुन्छ। वरपरको सुन्दर बगैंचामा टहल्दा समय बितेको पत्तै हुँदैन। मायादेवी परिसरबाट बाहिर निस्केपछि सुन्दर बगैंचाको बाटो हुँदै अखण्ड शान्ति दीप प्रज्वलन गरिएको स्थानसम्म पुग्न सकिन्छ। त्यहाँ जाने बाटोमा ‘लुम्बिनी’ लेखिएको फोटो खिच्ने ठाउँ छ। गौतम बुद्धको मूर्ति छ। सङ्ग्रहालय छ। विशाल घण्टी छ। यहाँ पुगेपछि कृत्रिम नदी बनाइएको छ, जहाँ डुंगा सयर गर्न सकिन्छ।
लुम्बिनी परिसरमा जर्मनीले बनाएको विशाल द ग्रेट लोटस स्तूप छ। थाइल्याण्डले बनाएको राजकीय थाइ विहार छ। नेपालले बनाएको युनाइटेड टुंग्राम विहार छ। भारतको कोलकाताले बनाएको महाबोधी समाज विहार छ। सुन्दर अस्ट्रियन विहार छ। म्यानमारको गोल्डेन स्तूप र विहार छ। चिनियाँ विहार छ। अन्तर्राष्ट्रिय भिक्षुणी विहार नेपाल छ। डुबक्युड छोलिङ विहार छ। श्रीलङ्काली विहार छ। धम्म जननी विपश्यना केन्द्र पनि छ, जहाँ १० दिनसम्म नियमित ध्यान साधना हुन्छ। बुद्ध धर्म अनुयायीहरूका लागि विपश्यना ध्यानको ज्ञान अत्यन्त महत्त्वपूर्ण छ। सबैले आफ्नो जीवनमा कम्तीमा एकपटक १० दिन निकालेर विपश्यना ध्यानको अनुभूति गर्न सके राम्रो हुन्छ। त्यसैगरी, यहाँ नाम नउल्लेख गरिएका अन्य थुप्रै विहारहरू पनि छन्।
लुम्बिनी विकास कोष र प्रा. केन्जो टांगेले तयार पारेको लुम्बिनी विकास गुरुयोजना नेपाल सरकार र संयुक्त राष्ट्रसङ्घबाट सन् १९७८ मा पारित भएपछि कार्यान्वयनमा छ। लुम्बिनी अत्यन्त रमणीय छ। यहाँका संरचनाहरू मनमोहक छन्। दैनिक हजारौं भक्तजनले भ्रमण गर्ने लुम्बिनीमा स्थानीयतालाई जोड्न सके सुनमा सुगन्ध थपिन्छ।
लुम्बिनी भ्रमणको सन्दर्भमा मैले करिब १०/१२ पटक भ्रमण गरेको होला। सधैं बिहान ९/१० बजेको समयमा गएर फर्किन्थ्यो। दिउँसो मौसम अनुकूल समयमा जाँदा रमाइलो हुन्थ्यो। यसपटक भने सधैंभन्दा फरक समयमा, बेलुका ६ बजेपछि र बिहान साढे पाँच बजेको ब्रह्म मुहूर्तमा घुम्न गएँ। मलाई सधैं कौतुहलता थियो, बेलुका र बिहान लुम्बिनीमा के हुन्छ होला ? कस्ता-कस्ता कार्यक्रमहरू आयोजना गरिन्छन् होला ? साँझमा जाँदा सुनसान नै पाइयो। खासै उत्साहपूर्ण र रमाइला कार्यक्रमहरू केही भएको देखिएन। बिहान जाँदा सरसफाइ कर्मचारीहरू आफ्नो काममा व्यस्त थिए। अधिकांश विहारहरू ८ बजेपछि मात्र खुल्ने सूचना टाँसिएको थियो। तर, दर्शनार्थीहरू भने बिहानै उपस्थित थिए।
लुम्बिनीमा वैशाखदेखि असोजसम्म गर्मी हुन्छ। यहाँको अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुग्छ। गर्मी याममा दर्शनार्थीहरू बिहान र साँझको शीतल समयमा मात्र घुम्न सजिलो हुन्छ। त्यसैले त्यस्तो व्यवस्था मिलाउन सके राम्रो हुन्छ। आन्तरिक र बाह्य पर्यटकलाई थप आकर्षित गर्न लुम्बिनीमा ठाउँ-ठाउँमा छहारीसहितको बस्ने ठाउँको व्यवस्था गर्नुपर्छ। खानेपानी र शौचालयको पर्याप्त व्यवस्था गर्नुपर्छ। स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। साँझको समयमा नजिकैका नेपाली उत्पादनहरूको व्यापारका लागि निश्चित स्थान छुट्याएर त्यसमा संलग्न हुन मानिसहरूलाई प्रोत्साहित गर्नुपर्छ। जस्तै, लुम्बिनी आसपासमा पाइने पतरबाट बनेका शुकुल, ढकिया, हस्तकलाका सामानहरूको व्यापार गरेर आर्थिक लाभ लिन सकिन्छ। तर, त्यहाँ वरपर केही सामानबाहेक अधिकांश विदेशी सामानहरूको व्यापार भएको देखियो। पर्यटकलाई आकर्षित गर्ने ध्यानजस्ता बुद्ध धर्मसँग सम्बन्धित गतिविधिहरू पनि न्यून देखिए।
लुम्बिनीको नाम हामीले विश्वमा जसरी बेचिरहेका छौं, त्यसको पर्याप्त लाभ स्थानीयले लिन सकेको देखिएन। नजिकैका बस्तीहरूमा लुम्बिनीप्रति कम आकर्षण भएको हो कि ? लुम्बिनी घुम्न आउने पर्यटकीय बाटोको सौन्दर्यीकरणमा खासै चासो देखिएन। बाटोको छेउछाउमा भैंसी गोठ र गुइँठा सुकाउने धेरै प्रयोग भएको देखियो। लुम्बिनीका प्रवेशद्वारहरूमा पर्यटकले कहाँबाट कहाँ जाने भन्ने मार्गचित्र राखिएको देखिएन।
लुम्बिनी साँच्चै रमणीय छ। यसलाई अझ राम्रो बनाउन आवश्यक छ। पहिलो कुरा, सरसफाइमा मुख्य ध्यान केन्द्रित गर्नुपर्छ। लुम्बिनी प्रवेश गर्नासाथ सबै द्वारमा यहाँबाट कहाँ-कहाँ जाने भन्ने स्पष्ट मार्गचित्र राख्नुपर्छ, ताकि भित्र प्रवेश गरेपछि अलमल नपरोस्। चोक-चोकमा सूचना दिने कर्मचारी र सूचना बोर्ड राख्नुपर्छ। पर्याप्त छहारीसहितको बस्ने, पानी खाने र शौच गर्ने ठाउँको व्यवस्था हुनुपर्छ। फोहोर फाल्ने निश्चित ठाउँको व्यवस्था गर्नुपर्छ। बाहिरी सौन्दर्यीकरणका लागि नजिकका स्थानीय तहहरू—लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिका, गैडहवा गाउँपालिका लगायतसँग मिलेर सरसफाइ र सौन्दर्यीकरण गर्नुपर्छ। पर्यटकलाई आकर्षित गर्ने र खर्च गर्न प्रेरित गर्ने ठाउँको व्यवस्था गर्न सके लुम्बिनीबाट स्थानीयले आर्थिक र व्यावसायिक लाभ लिन सक्छन्। तसर्थ, नेपालको प्रथम पर्यटकीय गन्तव्य बनाउन सम्बन्धित पक्षको ध्यान जाओस्।