काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ । चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेशमा सावित्रीकुमार काफ्ले, अजम्बर काङवाङ, धर्मशीला चापागाईँ र सुरेशकुमार राई, मधेश प्रदेशमा विश्वनाथ साह, प्रल्हाद बुढाथोकी, जोगबहादुर यादव र महेन्द्र पासवान, बागमती प्रदेशमा अञ्जना विशंखे, सूर्य सुवेदी, हितबहादुर तामाङ, शालिकराम जमरकट्टेल, गण्डकी प्रदेशमा हरिराज अधिकारी, लुम्बिनी प्रदेशमा कुलप्रसाद केसी, कर्णाली प्रदेशमा टेकबहादुर बस्नेत र महेन्द्रबहादुर शाही तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन् ।
यस्तै उपत्यका विशेष प्रदेशमा मोहन कार्की, रमेश मल्ल र रामप्रसाद सापकोटा, सम्पर्क समन्वय प्रदेशमा झक्कुप्रसाद सुवेदी, देवेन्द्र पराजुली र मानबहादुर बुढा तथा सार्क प्रवास प्रदेशमा ईश्वरी भण्डारी, एसिया प्रवास प्रदेशमा डिबी क्षेत्री, पश्चिम अन्तर महादेशीय प्रवास प्रदेशमा सुरेन्द्र भुसाल, मोहनमान स्वाँर र कृष्णकुमार राई पनि प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालयको सदस्यमा झरेका छन् ।
बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ ।
साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ । बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ ।
बैठकले केही जिल्लाको इन्चार्ज पनि तोकेको छ । जस अनुसार तत्कालका लागि सप्तरीमा स्थायी समिति सदस्य विश्वनाथ साह, महोत्तरीमा प्रकाश पोखरेल, बाजुरामा मनलाल खत्री, जाजरकोटमा गणेशप्रसाद सिंहलाई तोकिएको छ ।
यस्तै पार्टी एकता प्रक्रियाबाट जोडिएका प्रदेश १ बाट जयराज लिम्बु र प्रवीण चाम्लिङ, मधेश प्रदेशबाट लक्ष्मी चौधरी र प्रमोद साह, बागमती प्रदेशबाट नवीन रिमाल र अर्जुन योगी, कर्णाली प्रदेशबाट भीमबहादुर मल्ललाई पार्टीको वैकल्पिक केन्द्री सदस्य मनोनीत गरिएको छ भने कर्णालीबाटै तर्कबहादुर शाहीलाई भने केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
यस्तै विशिष्ट अवस्थामा भनेर प्रदेश १ बाट पूर्णसिंह राजवंशीलाई केन्द्रीय सदस्य, मधेश प्रदेशबाट पिएल श्रेष्ठ र सुदूरपश्चिम प्रदेशबाट हरिस ठकुल्लालाई वैकल्पिक केन्द्रीय सदस्य मनोनीत गरिएको छ । बैठकले नन्दबहादुर पुनलाई पार्टी केन्द्रीय सदस्य र स्थायी समिति सदस्यमा मनोनीत गर्नुका साथै पार्टीको उपाध्यक्षको जिम्मेवारी तोकिएको छ ।
पदाधिकारी बैठकले विगतमा विद्यार्थी सम्बन्धी कार्यदलको सिफारिसको आधारमा एक तह बढुवाको सिफारिसलाई स्थगित गरी स्थानान्तरणको सिफारिसलाई स्वीकार गरिएको छ ।
उनीहरूलाई विगतमा जुन तहमा रहँदै काम गरेका थिए, सम्बन्धित क्षेत्रको सोही तहमा पार्टी कमिटीमा संगठित गर्ने सुनिश्चित गरिएको छ भने केहीलाई केन्द्रीय प्रतिनिधि बनाइएकोमा त्यसको कार्य अवधि गत केन्द्रीय समितिको बैठकसम्म रहेको जानकारी गराउने निर्णय भएको छ ।
बैठकले विभागको बैठक बसेर सबै विभागलाई क्रियाशील बनाउने, विभागको सदस्यमा थपघट गर्नुपर्दा सम्बन्धित विभागीय प्रमुखको सिफारिसमा पार्टी कार्यालयले निर्णय गर्ने र विभागीय सदस्य थप्नुपर्दा विषयगत विज्ञ मात्र राख्ने सुनिश्चित गरिएको छ । विभागको सन्दर्भमा केही निर्णय भएका र ती निर्णय सम्बन्धित विभाग र सम्बन्धित सदस्यलाई जानकारी गराउने पदाधिकारी बैठकले निर्णय गरेको छ ।