काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षीय सांसदहरु भौतिक रूपमै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् ।
आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले संसदमा विपक्षी सांसदभन्दा उग्र भएर सत्तापक्षका सांसदहरुले भौतिक रूपमै हमला गर्ने क्रियाकलाप गरेको आरोप लगाए ।
उनले सत्तापक्ष र प्रधानमन्त्री सदनप्रति गैर जिम्मेवार देखिएको र जटिलता थपिँदै गएको बताए ।
सांसद सापकोटाले देशमा देखिएको पछिल्लो घटनाका साथै आफूहरूले उठाएका मागमा गम्भीर भएर सदनमा जवाफ दिनुपर्नेमा प्रधानमन्त्री अल्मलिएर बसेको जिकिर गरे ।
उनले सदनलाई जबरजस्ती पेलेरै अघि बढाउने तयारी भएको र नियोजित रूपमा प्रतिनिधिसभाको प्रत्यक्ष प्रसारण रोकिएको आरोप लगाए ।
प्रधानमन्त्रीले सदनमा जवाफ नदिएसम्म आफूहरूको विरोध कायमै रहने उनको भनाइ छ ।