काठमाडौँ । धनुषाको जनकपुरमा प्रहरी र स्थानीयबीच झडप भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्दीमा स्थानीय र प्रहरीबीच झडप भएको हो ।
छुरा प्रहार गरी हत्या गरेको घटनामा संलग्न दोषीहरूको पक्राउको माग गर्दै जनकपुर-जलेश्वर सडक खण्ड अवरुद्ध गरेपछि प्रहरीले खुलाउने क्रममा झडप हुँदा दर्जनौँ सेल अश्रुग्याँस प्रहार गरिएको छ ।
स्थानीयले ढुंगा मुढा गर्दै प्रहरीलाई लखेटेका छन् । झडपको क्रममा कैयौँ प्रहरी र स्थानीय समान्य घाइते भएका छन् । प्रहरीका अनुसार, अहिलेसम्म कति सेल अश्रु ग्यास प्रहार भए र कति व्यक्ति घाइते भएको भन्ने विवरण एकिन भएको छैन ।
के थियो घटना
गत चैत २ गते होली खेल्ने क्रममा कुर्ता च्यातिएको निहुँमा स्थानीय २१ वर्षीय धर्मेन्द्र महतोले पप्पु यादवका छोरा १५ वर्षीय आशुलाई घरबाट बोलाएर छुरा प्रहार गरी बीभत्स हत्या गरेका थिए ।
घटना लगत्तै धर्मेन्द्र पक्राउ परेका थिए । तर उनलाई छुरा दिने स्थानीय रामवरण महतोका छोरा राकेश महतो लगायत आशुलाई घरबाट बोलाउन सहयोग गर्नेहरू अझै फरार छन् ।
घटनाको दुई साता पुग्दा समेत उनीहरूलाई पक्राउ गर्न नसकेको भन्दै आशुकी आमा अर्चनासहित स्थानीयले आज बिहान ८ बजेदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरिरहेका छन् ।
छुरा प्रहार घटनामा संलग्न भनिएका केही व्यक्तिहरू फरार भएर भारतमा लुकेकाले पक्राउ गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय, धनुषाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले जानकारी दिए ।
उनले छुरा प्रहार घटनाका मुख्य दोषी धर्मेन्द्रलाई पक्राउ गरिसकेको र अन्यको खोजी कार्य जारी रहेको बताए । उनले भने, “घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ । तर घटनामा केही व्यक्तिहरूले पीडित परिवारलाई उचालेर प्रदर्शन गर्न उक्साइरहेका छन् ।”