काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ दल नेकपा एमालेसँग भएको समझदारीमा पार्टी शत प्रतिशत प्रतिबद्ध रहेको जिकिर गरेका छन् ।
सुनसरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महामन्त्री थापाले काँग्रेसले यसअघि पनि माओवादीसँग सहकार्य गरेको बेलामा एमालेले गरेको प्रस्ताव अस्वीकार गरेको र अहिले पनि आफ्नो बोलीमा प्रतिबद्ध रहेको बताए ।
‘एमालेले काँध फेर्न जान्छ, कम्युनिस्ट एकता गर्छ, फेरि मिलौँ भनेर जान्छ भने पनि उसको कुरा हो,’ थापाले भने, ‘हामी काँध फेर्न जाँदैनौँ । काँग्रेस जे बोल्छ त्यही हो ।’
साथै, उनले आफ्नो पार्टी माओवादी केन्द्रसँगको गठबन्धनमा हुँदा पटक पटक एमालेले सहकार्यको प्रस्ताव गरेको बताएका छन् ।
‘काँग्रेस र माओवादीको संयुक्त सरकार बनिरहेको बेलामा नेकपा एमालेको तर्फबाट पटक पटक काँग्रेसलाई प्रस्ताव गरिएको थियो कि यो सरकार छाडिदिनुस्, काँग्रेसको नेता प्रधानमन्त्री बन्नुस्,’ महामन्त्री थापाले अघि भने, ‘बाँकी सम्पूर्ण कार्यकाल काँग्रेसकै नेतृत्वमा सरकार बनाउन हामी तयार छौँ भन्ने प्रस्ताव थियो । तर, काँग्रेसले त्यो प्रस्ताव स्वीकार गरेन ।’
उनले त्यतिबेला काँग्रेस विकल्प खोज्दै नहिँडेको पनि बताए ।
‘तर, काँग्रेसले हामी विकल्पको बारेमा सोच्दैनौँ भनेर भन्यौँ । हाम्रो समर्थनमा बहुमतको सरकार थियो । हामी विकल्प खोज्न गएका थिएनौँ,’ महामन्त्री थापाले भने ।