काठमाडौँ। झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित मेची राजमार्गबाट सशस्त्र प्रहरीले १६ सय ३६ किलो गाँजासहित दुई वटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा धनकुटाको शहिदभूमि नगरपालिका–४ बस्ने महेश राई र इलाम माईजोगाई गाउँपालिका–२ बस्ने ३७ वर्षीय गंगाबहादुर बस्नेत रहेका छन् । उनीहरू शुक्रबार साँझ पक्राउ परेका हुन् ।
इलामबाट झापातर्फ आउँदै गरेका को १ ख ५००१ र प्र १–०२–००२ ख ०५८४ नम्बरका मिनी ट्रकलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले जाँच गरेको थियो।
जाँचका क्रममा ५७ बोरा गाँजासहित उनीहरूलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट ८७ हजार ८८० रुपैयाँ नगद र ५ वटा मोबाइल सेट पनि बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन्।
पक्राउ परेका व्यक्ति, गाँजा र ट्रक आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।