काठमाडौँ । नेपालमा जलस्रोतको संरक्षण, दिगो विकास, र उपयोगका विषयमा गहन छलफल गर्न यही चैत्र ९ र १० गते काठमाडौँस्थित एभरेष्ट होटलमा “प्रथम राष्ट्रिय पानी सम्मेलन २०२५” आयोजना गरिने भएको छ। नेपाल सरकार जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्वमा तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपालको आयोजनामा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जलसम्बद्ध संघसंस्थाको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको हो।
जल तथा ऊर्जा आयोग सचिवालयका प्रवक्ता कलानिधि पौड्यालका अनुसार, जलस्रोतको दिगो व्यवस्थापन, जलवायु परिवर्तनको असर न्यूनीकरण, र जलस्रोत उपयोगको एकीकृत रणनीतिबारे छलफल गर्न सम्मेलन महत्त्वपूर्ण अवसर हुने विश्वास गरिएको छ। सम्मेलनको उद्घाटन समारोह चैत्र ९ गते बिहान ९ बजे होटेल एभरेस्ट, नयाँ बानेश्वरमा प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा हुनेछ।
जलवायु परिवर्तन र नेपालका चुनौती
नेपाल जलस्रोतमा धनी देश भए पनि यसको प्रभावकारी व्यवस्थापन चुनौतीपूर्ण रहेको विज्ञहरूले बताएका छन्। जलवायु परिवर्तन, बढ्दो जनसंख्या, र अव्यवस्थित विकासका कारण जलस्रोतमा दबाब बढ्दै गइरहेको छ। जल तथा ऊर्जा आयोग सचिवालयका अनुसार जलवायु परिवर्तनले नेपालको हिमश्रृंखलामा गम्भीर असर पारिरहेको छ। हालै सोलुखुम्बुको थामेमा भएको हिमनदी ताल विस्फोट बाढी घटनाले जलवायु परिवर्तनको गम्भीरता झल्काउने बताइएको छ।
प्रवक्ता पौड्यालले हिमनदी पग्लने क्रम तीव्र भएको, अत्यधिक वर्षा र खडेरीका घटनाहरू बढ्दै गएको, जलस्रोतको उपलब्धतामा परिवर्तन आएको र जलजन्य प्रकोपहरू बढिरहेका विषयमा चिन्ता व्यक्त गरे। उनका अनुसार, नेपाल सरकारको निर्णयअनुसार सन् २००८ देखि नेपालमा जल तथा मौसम सप्ताह मनाउँदै आइएको छ। यसै सन्दर्भमा, यस वर्षदेखि हिमनदी संरक्षणलाई समेत ध्यानमा राख्दै “नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह २०२५” भव्य रूपमा मनाइने जनाइएको छ।
जलस्रोत संरक्षणका लागि सम्मेलनको महत्त्व
नेपालको आर्थिक तथा सामाजिक विकासमा जलस्रोतको प्रमुख भूमिका रहेको सन्दर्भमा जलस्रोतको संरक्षण, उपयोग, दिगो विकास, तथा प्रभावकारी व्यवस्थापनका लागि नीति निर्माण र कार्यान्वयनको विषयलाई गहन रूपमा छलफल गर्न सम्मेलन आयोजना गर्न लागिएको हो।
दुई दिनसम्म चल्ने सम्मेलनमा नीति निर्माताहरू, विज्ञहरू, सरोकारवाला निकायहरू तथा अन्तर्राष्ट्रिय संस्थाहरूबीच जलस्रोत संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, तथा जलस्रोतको प्रभावकारी व्यवस्थापनका विषयमा गहन छलफल हुने जनाइएको छ।
सरकारले जलस्रोतको दिगो व्यवस्थापनका लागि नीति र कार्यक्रमलाई प्रभावकारी बनाउन यो सम्मेलन महत्त्वपूर्ण अवसर हुने विश्वास लिएको प्रवक्ता पौड्यालले बताए। सम्मेलनले नेपालमा जलस्रोतको उचित उपयोग, जलवायु परिवर्तनका असर न्यूनीकरण, तथा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय साझेदारी विस्तारका लागि मार्ग निर्देशन गर्ने अपेक्षा गरिएको छ।