काठमाडौँ । कर्णाली प्रदेश अस्पताललाई मेडिकल शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न अध्ययन समितिले सुझाव दिएको छ।
प्रदेश सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको संयोजकत्वमा गठन गरेको विज्ञ समितिले चार महिनासम्मको अध्ययनपछि प्रतिवेदन बुझाएको हो।
समितिले अस्पतालको भौतिक पूर्वाधार, जनशक्ति, उपकरण र प्रदेशको स्वास्थ्य आवश्यकताका आधारमा पाँचवटा विकल्प सुझाएको छ।
संयोजक कोइरालाका अनुसार प्रदेश अस्पताललाई प्राज्ञिक तथा शैक्षिक संस्थाको रूपमा स्तरोन्नति गर्ने सम्भाव्यता लगायतका विभिन्न पाँच वटा विकल्प दिइएको जानकारी दिए।
विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिको अभावका कारण उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुँदै गएको र हाल अस्पतालमा मिर्गौला प्रत्यारोपण, आईसीयू, एमआरआई, न्युरोसर्जरी, युरो सर्जरी, हाडजोर्नी उपचार लगायतका सेवा उपलब्ध रहेको समितिले उल्लेख गरेको छ।
समितिको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले अध्ययनका आधारमा निर्णय लिने प्रतिबद्धता जनाए।
उनका अनुसार सीमित स्रोतसाधनका बीचमा सम्भाव्यता अध्ययनका सिफारिसलाई कार्यान्वयनमा लैजाने तयारी हुनेछ।
प्रदेश सरकारले गठन गरेको समितिमा डा. अर्जुन कार्की, डा. सुरेश तिवारी, डा. केशर ढकाल, डा. विकास केसी र डा. नवराज केसी सदस्य थिए।
प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति अध्ययन, स्थानीय आवश्यकताको विश्लेषण तथा प्रदेशको क्षमता अनुरूप बजेट व्यवस्थापनका सिफारिसहरू समेटिएको छ।