काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले नेपालले लैंगीक समानताको प्राप्ति र महिला तथा बालिकाको सशक्तीकरण समावेशीतामा उल्लेख्य उपलब्धि हासिल गरेको बताएका छन् ।
संयुक्त राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजित महिलाको स्थितिसम्बन्धी आयोग (सिएसडब्लु) को ६९औँ सत्रमा बुधबार राष्ट्रिय वक्तव्य प्रस्तुत गर्दै मन्त्री सुडीले लैंगीक समानता दिगो र न्यायपूर्ण समाजको प्रवर्द्धनका लागि महत्त्वपूर्ण रहेको बताए । नेपालले विगत तीन दशकमा यस दिशामा गरेका महत्त्वपूर्ण प्रगतिलाई प्रकाश पार्दै भने, “नेपालको संविधानले संघीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत र स्थानीय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता गरेको छ । नेपालले सदैव लैङ्गिक समानता र महिला सशक्तीकरणका मुद्दालाई उच्च प्राथमिकता दिँदै आएको छ ।”
महिलालाई सशक्त बनाउन वित्तीय समावेशीकरण विस्तार गर्ने, सामाजिक सुरक्षा सुदृढ गर्ने, लैंगीक उत्तरदायी बजेटलाई अगाडि बढाउने, लैंगीक डिजिटल विभाजनलाई कम गर्ने, र लैंगीक–विश्लेषित तथ्यांकको संकलन तथा उपयोगलाई बढाउनेलगायतका क्षेत्रमा रणनीतिक हस्तक्षेपको महत्त्वमा मन्त्री सुडीले जोड दिए । उनले अन्तर्राष्ट्रिय समुदायलाई विद्यमान खाडललाई पुर्न र लैंगीक समानतालाई केवल एक आकांक्षाका रूपमा नभई सबैका लागि जीवित यथार्थ बनाउन ऐक्यबद्धताको भावनाका साथ मिलेर काम गर्न आह्वान गरेको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
मन्त्री सुडीले सिएसडब्लुको ६९औँ सत्रको मन्त्री स्तरीय बैठकलाई पनि सम्बोधन गरेका थिए । सो बैठकमा उनले लैंगीक समानता र महिला सशक्तीकरण अभिवृद्धि गर्न नेपालका राष्ट्रिय संयन्त्रले गरेका कार्यबारे प्रकाश पारेका थिए । उनले नेपालका कानुन र नीतिले आर्थिक, राजनीतिक तथा सामाजिक क्षेत्रमा सबै प्रकारका लैंगीक भेदभाव उन्मूलन गरेर महिला सशक्तीकरण र लैंगीक समानताको प्रत्याभूति गरेको अवगत गराएका थिए।
बालिका शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक सशक्तीकरणमा कार्यक्रम तथा पहलमा लगानी बढाउन र सार्वजनिक तथा निजी वित्त परिचालन गर्न मन्त्री सुडीले आह्वान गरे । सोही अवसरमा उनले युनिसेफद्वारा आयोजित ‘शक्ति र किशोरी: बालिकामा लगानी गरौँ, विश्व परिवर्तन गरौँ’ र खाद्य तथा कृषि संगठन (एफएओ)द्वारा आयोजित ‘अधिकार-आधारित र लैंगीक-न्यायपूर्ण खाद्य सुरक्षा र पोषणतर्फ: भोकमरी अन्त्य गर्ने र कसैलाई पनि पछाडि नछोड्ने मार्गहरू’ विषयका साइड इभेन्टहरूलाई पनि सम्बोधन गरेका थिए । कार्यक्रममा उनले नेपालले लैंगीक समानता र महिला सशक्तीकरणमा गरेका प्रयासबारे प्रकाश पारेका थिए । मन्त्री सुडीले शुक्रबार नेपाल, बांङ्लादेश र फिनल्याण्डद्वारा संयुक्त रूपमा आयोजना गरिने तथा युनिसेफद्वारा आयोजना गरिने छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको स्थायी नियोगले जनाएको छ । मन्त्री सुडी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा संघीय संसद्का सदस्यहरू, मन्त्रालयका सचिव र वरिष्ठ सरकारी अधिकारीहरू सहभागी छन् ।