डोटी । डोटी जिल्लामा पहिलो पटक सरकारी तवरबाट दुई स्थानमा ओपन जिम व्यायामशाला सञ्चालनमा आएको छ। सहरी विकास तथा भवन कार्यालय डोटीको सहयोगमा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ राजपुर र वडा नम्बर ६ सिलगढी बजारमा उक्त व्यायामशाला सञ्चालन गरिएको हो।
दिपायलस्थित ओपन जिम व्यायामशालाको उद्घाटन नगर प्रमुख बाजी सिंह खड्काले गरेका हुन् भने सिलगढीको व्यायामशाला प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनराज जोशीले उद्घाटन गरेका छन्। सहरी विकास तथा भवन कार्यालय डोटीका प्रमुख सुबिक श्रेष्ठका अनुसार सर्वसाधारणलाई शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ राख्ने उद्देश्यले ओपन जिम सञ्चालन गरिएको हो।
प्रजिअ जोशीले व्यायाम, ध्यान र योगले नागरिकको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले व्यायामशालाको अधिकतम उपयोग गर्न आग्रह गरे। त्यस्तै, नगर प्रमुख खड्काले यो कार्य जिल्लाका लागि नयाँ र उदाहरणीय भएको उल्लेख गर्दै आम नागरिकले यसको भरपुर उपयोग गर्नुपर्नेमा जोड दिए।
प्रत्येक ओपन जिम व्यायामशालाको निर्माणमा १० लाख रुपैयाँ खर्च भएको छ। दिपायलको राजपुरमा खुला स्थानमा तथा सिलगढीको समाज सेवा डोटीको कम्पाउन्डमा जिम स्थापना गरिएको छ। वडा कार्यालयले यसको व्यवस्थापन गर्ने जनाएको छ भने जेष्ठ नागरिकदेखि बालबालिकासम्म सबैलाई निःशुल्क प्रयोगको व्यवस्था गरिएको छ।
ओपन जिममा सोल्डरी ह्याबीटेशन, डबल सर्फ बोर्ड, लेग एक्सटेन्सन सहितको फिटनेस राइडर, डबल साइकलिङ, अपराइड राइडर, डबल इयर वाकर, लेग प्रेस लगायतका विभिन्न उपकरणहरू रहेका छन्।
डोटीमा सरकारी तवरबाट सञ्चालनमा आएको यो पहिलो ओपन जिम व्यायामशाला हो, जसले जिल्लावासीलाई स्वस्थ जीवनशैली अपनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।