समर्पण, नेतृत्व र प्रतिबद्धता-महिला शिक्षिकाहरूको यो प्रयास सामुदायिक विद्यालयहरूको उज्ज्वल भविष्यको संकेत हो
काठमाडौँ । नेपालको शिक्षामा महिलाको पहुँच विस्तार हुन थालेको धेरै भएको छैन । तर, छोटो अवधिमा नै नेतृत्वदायी क्षमतायुक्त शिक्षित महिलाहरूले सामुदायिक विद्यालयको नेतृत्व सम्हाल्दै उत्कृष्ट नतिजा देखाइरहेका छन् । कतिपय सामुदायिक विद्यालयहरू निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गरिरहेका छन्, जसको नेतृत्व महिलाहरूले गरिरहेका छन् ।

बर्दियाको राजापुर नगरपालिका वडा नं. ९ मा रहेको दुर्गा भवानी प्रा.वि. पनि महिलाले नेतृत्व गरेको विद्यालय हो, जहाँ सम्पूर्ण स्टाफ महिला छन् । यो विद्यालय शिक्षिकाहरूको समर्पण, प्रतिबद्धता र व्यवस्थापन क्षमताको अनुपम नमुना बनेको छ । प्रधानाध्यापकदेखि सहयोगी कर्मचारीसम्म सबै महिला भएका कारण विद्यालय बालमैत्री र सुरक्षित वातावरण निर्माण गर्न सफल देखिएको छ । अभिभावकहरूका अनुसार महिला शिक्षिकाहरूले छात्राहरूलाई थप प्रेरित गर्दै विद्यालय सञ्चालन, पठनपाठन र अतिरिक्त क्रियाकलापहरू प्रभावकारी ढंगले व्यवस्थापन गरिरहेका छन् ।
स्थापनाकालदेखि नै महिला सहभागिता
वि.स. २०५७ सालमा स्थापना भएको यस विद्यालयमा २०७६ साल सम्म एक जना मात्र पुरुष शिक्षक कार्यरत थिए । सोही वर्ष उनको सरुवा भयो र त्यसपछि महिलाहरू मात्र कार्यरत छन । राजापुर नगरपालिकाले यस वर्ष दरबन्दी मिलान गर्ने भनेर सूचना निकाल्यो । भारतीय सीमाबाट नजिक पर्ने, केन्द्रबाट अलि टाढा र आवत जावतमा असहजता हुने देखेर होला एक जना महिलाको मात्र प्रधानाध्यापकका लागी निवेदन परेको थियो । दरबन्दी मिलानमा परेर विद्यालयमा सरुवा भई आएकी प्रधानाध्यापक पवित्रा अधिकारीले सबै जना महिला भएको विद्यालयमा आफूलाई नेतृत्व दिएर खटाए पछि सुधारका योजना सहित कार्यभार सम्हालेको बताउँछिन् ।
‘म विद्यालय सुधार लगायतका योजना बनाएर शिक्षिकाहरूसँग दैनिक जसो छलफल चलाउने गर्दछु । उहाँहरूबाट थप सुझाव सहित सहयोग प्राप्त हुने गर्दछ ।’

शिक्षाको अवस्था राम्रो भए पनि खेलमैदानको अभावका बारेमा उनले गुनासो गर्दै भनिन्, ‘साना बालबालिकालाई नियमित अध्यापनका साथै खेलको माध्यमबाट सिकाउँदा चाडै सिक्छन् तर हाम्रो खेलमैदान एकदमै सानो छ ।’ स्रोतसाधन कम भएता पनि विद्यालयलाई नमुना विद्यालय बनाउनको लागि अभिभावक लगायत स्थानीय सरकारको सहयोगले अन्य निजी विद्यालय भन्दा राम्रो वातावरणमा बालबालिकालाई शिक्षा दिइरहेको अधिकारीले बताइन् ।
प्र.अ.लाई अन्य शिक्षिकाहरूको समर्थन
भनिन्छ थोपा थोपा जम्मा भएपछि समुन्द्र बन्छ भने जस्तै विद्यालय सुधारमा लाग्नका लागी सुरुवात आफैबाट गर्नु पर्छ भन्ने ठानेर शिक्षक आचारसंहिता लागु गरेर अनुशासित ढंगले अगाडी बढेको त्यहाँ कार्यरत शिक्षिकाहरू बताउँछन् । ‘हामी सबै शिक्षक कर्मचारीहरू समय अगावै विद्यालयमा पुग्छौँ । नियमित अभिभावकसँग भेटघाट गरी विद्यालय सुधारका योजना बनाएर काम गरिरहेका छौ ।’ उनीहरू भन्छन्, ‘आफूबाटै सुरुवात गरेकाले होला अभिभावकहरूको पनि पूर्ण सहयोग प्राप्त भई रहेको छ ।’
सबै शिक्षिकाहरू महिला भएको र आमाले जस्तै माया गर्ने भएकाले होला बालबच्चा घरमा बस्न नमान्ने एक स्थानीयले बताइन् । उनले भनिन्, ‘विद्यालयका सबै शिक्षिकाहरूले पढाउने र गृहकार्य मात्र दिने नभई विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने हुँदा विद्यार्थीहरू घरमा भन्दा विद्यालयमै रमाइलो मान्छन् । विद्यालय छोड्न मान्दैनन् ।’
बाल विकासका २ वटा कक्षा सहित ५ सम्म पढाइ हुने यस विद्यालयमा कार्यालय सहयोगी देखी प्रधानाध्यापक गरी ९ जना महिला कर्मचारी रहेका छन ।
शिक्षिकाको कामप्रति जनप्रतिनिधि खुसी
स्थानीय सरकारले विद्यालयलाई अझै राम्रो बनाउनको लागि विशेष पहल गरिरहेको वडा नं ९ का अध्यक्ष विष्णु प्रसाद थारुले बताए । दलित तथा जेहेनदार बालबालिकालाई छात्रवृत्ति देखि लिएर अन्य भौतिक सामाग्री बनाउनको लागि पहल गर्नुका साथै समयमै शिक्षकहरूलाई तलबको सुविधा पनि दिइएको उनले बताए ।
महिलाहरू मात्र कर्मचारी भएको विद्यालय पुरै पालिकामा आफ्नो वडामा मात्र भएको बताउँदै वडा नं ९ का अध्यक्ष विष्णु प्रसाद चौधरीले सबै शिक्षिकाहरू विद्यालय राम्रो बनाउन लागेको थारु बताउँछन् । पालिकाका धेरै जसो विद्यालयको नेतृत्व पुरुषले गरिरहेको अवस्थामा महिला प्राध्यापक हुनु एक गौरवको कुरा भएको उनले बताए । वडा अध्यक्षको नाताले आफू बेलाबखत विद्यालयमा गएको समयमा उहाँहरूको पढाउने शैली देखेर आफू दंङ पर्ने गरेको उनी बताउँछन् ।
‘म बेला बेलामा अनुगमनमा जाने गर्दछु । सीमित साधन र स्रोतका बाबजुद शिक्षिकाहरूले विद्यालयको अनुहार नै फेर्नु भएको छ ।’ वडाध्यक्ष थारुले भने, ‘उहाँहरूले प्रार्थनाकलामा गर्ने पी.टी.ले म एकदमै प्रभावित भएको छु । सबै जना शिक्षिकाहरू मिलेर संगीतमय पी.टी. गराउनुहुन्छ । यसले बच्चाहरूलाई फुर्तिलो त बनाउँछ नै उनीहरू लाई अनुशासित हुन प्रेरणा पनि दिन्छ ।’

विद्यालयलाई अझै राम्रो बनाउने योजना
आफ्नो विद्यालय भारतीय सीमावर्ती क्षेत्रको नजिकै रहेको र यहाँका अधिकांश अभिभावक मजदुरी गर्नका लागी भारत तर्फ जाने गरेको बताउँदै प्र.अ. अधिकारीले स्कुल जाने उमेर समूहका बालबालिका पनि आमा बुवा सँगै जाने गरेको बताइन् ।
अब आउने वर्षहरूमा अभिभावकसँग छलफल गरेर सो क्षेत्रका धेरै बच्चाहरूलाई स्कुल आउने वातावरण बनाउने योजना प्र.अ. अधिकारीले बताइन् ।
आफूमा आवश्यक ज्ञान ,सीप र क्षमता अनि विद्यालयको शैक्षिक सुधारको लागि दृढ इच्छा शक्ति छ भने नेतृत्वमा कुनै समस्या नआउने उनको भनाई छ । आफूले प्र.अ.को जिम्मेवारी समालिरहँदा बालबालिकाको भविष्य निर्माण गर्ने जुन जिम्मेवारी दिइएको छ त्यसमा दृढ भएर लागेको र आफ्नो कार्यकाल रहँदासम्म लागिरहने उनको प्रतिबद्धता छ ।
उनका अनुसार कहिले काहीँ विषयवस्तुमा केन्द्रित रहेर अवलोकन भ्रमण पनि गराउने गरेका छौँ । यसले गर्दा विद्यालयमा शतप्रतिशत नै विद्यार्थी लाई टिकाउन र सिकाइ उपलब्धिमा सुधार ल्याउन सफल भयका छौँ ।
देशभर सामुदायिक विद्यालयको स्तर खस्कँदो देखिएकाले यसलाई सुधार गर्नका लागि शिक्षकका साथै अभिभावक विद्यालय व्यवस्थापन समिति अनि शिक्षक अभिभावक संघ पनि जिम्मेवार भएर लाग्नुपर्ने प्रअ अधिकारी बताउँछिन् ।
सामुदायिक विद्यालयको संख्या घट्दो
पछिल्लो समय सामुदायिक विद्यालयहरूमा बालबालिकाको संख्या घट्दो छ, भने निजी विद्यालयहरूमा यसको संख्या बढिरहेको छ । यस्तो अवस्था कसरी आयो त ? विज्ञहरू भन्छन्, ‘सामुदायिक विद्यालयको संख्या र यहाँ अध्ययनरत विद्यार्थीको सहभागिता घट्नुको मुख्य कारण भनेको राजनीति आस्थामा शिक्षकहरू लाग्नु र राजनीति हस्तक्षेप हुनु यसको मुख्य कारण हो, यसका साथै पुराना शिक्षकहरूले नयाँ प्रविधिको प्रयोग गरेर अध्यापन गराउन नसकेका कारण यसको अवस्था पछिल्लो समय नाजुक बन्दै गइरहेको छ ।’
अहिले देशभर २५ हजार आठ सय ७४ सामुदायिक विद्यालयहरू सञ्चालनमा छन् भने यसको आधा भन्दा कम ८ हजार १ सय ४९ निजी विद्यालयहरू सञ्चालनमा रहेका छन् । जम्मा जम्मी ३५ हजार ४ सय ४७ वटा विद्यालयहरू अहिले नेपालभर सञ्चालनमा रहेको शिक्षा मन्त्रालयको तंथ्याकमा उल्लेख गरिएको छ । २ वर्ष अगाडीको तथ्यांक अनुसार, नेपालमा सञ्चालनमा रहेका सामुदायिक विद्यालयको संख्या ३७ हजार भन्दा बढी रहेको थियो । सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या घटेका कारण कतिपय विद्यालयहरूलाई गाभेर एकै विद्यालय बनाइएकाले सामुदायिक विद्यालयको संख्या घटिरहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए ।
महिलाले मात्र सञ्चालन गरेको दुर्गा भवानी प्रा.वि. शैक्षिक नेतृत्व, व्यवस्थापन र समर्पणको उत्कृष्ट उदाहरण बनेको छ । शिक्षिकाहरूको मेहनत र स्थानीय सरकारको सहयोगले विद्यालयले निजी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्न सफल भएको छ । यो विद्यालय शिक्षामा लैंगिक समावेशिता र नवाचारको सशक्त प्रमाण हो ।
