काठमाडौँ । जनकपुरबाट आएको बुद्ध एयरको एउटा विमान पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ ।
आज अपराह्न जनकपुरबाट काठमाडौँका लागि आएको उक्त विमानको अगाडिका दुईमध्ये एक पांग्रा बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए ।
उनले भने, “एक पांग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ । यो खासै ठूलो समस्या भने होइन तर पांग्रा हराएकोबारे जाँचबुझ भइरहेको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भने जनकपुरबाट काठमाडौँ उडान नं ५०६, जहाज नाइन एन-ए एनएच विमान काठमाडौँमा सुरक्षित अवतरण गरेको बताए । “जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाजलाई प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको छ”, उनले भने ।
उक्त जहाजमा ६२ यात्रु रहेका थिए ।