काठमाडौँ । काठमाडौँस्थित थापाथलीमा मंगलबार बिहान मेलम्चीको खानेपानी वितरणको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरणकै गल्ती देखिएको छ ।
मेलम्ची सहितको खानेपानी वितरणको जिम्मा पाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार प्राधिकरणबाट विद्युत् लाइन भूमिगत गर्न सडक खनेर पाइप बिछ्याउँदा सावधानी नअपनाएको कारणले भएको प्रारम्भिक अध्ययनबाट देखिएको हो ।
निर्देशनालयका अनुसार विद्युत् लाइन भूमिगत गर्नका लागि पाइप बिछ्याउँदा मेलम्चीको पाइपको तल, माथि, दायाँ र बायाँ कम्तीमा एक मिटरको दुरी राख्नुपर्ने विगतको समझदारी विपरीत प्राधिकरणले सडक खनेर मेलम्चीको पाइपमाथि नै विद्युतको पाइप राखेको पाइएको हो । सोही क्रममा मेलम्चीको पाइपमा चोट लागेको स्थलगत अध्ययनबाट देखिए छ ।
‘एक दिनअघि बानेश्वर क्षेत्रमा पाइपलाइन मर्मतका लागि माइतीघरस्थित भल्भ बन्द गरिएको र ललितपुरको ज्वागलमा रहेको एयर भल्भ पनि बन्द रहेकै अवस्थामा एकान्त कुनाबाट माइतीघरतर्फ पानी आउँदा चाप बढ्न गई चोट लागेको ठाउँमै मेलम्चीको पाइप फुटेको पाइएको छ,’ विज्ञप्तिमा छ ।