काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई हटाउने अधिकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग नरहेको दाबी गरेका छन्। मन्त्रालयले मागेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिँदै घिसिङले कानुनी प्रक्रिया र प्राधिकरणको विनियमावली उल्लंघन गर्दै आफूलाई लक्षित गरिएको बताएका छन् ।
उनले मन्त्रालयले कुनै ठोस आधारबिना स्पष्टीकरण मागेको भन्दै आपत्ति जनाएका छन् । “कार्यकारी निर्देशक वा महाप्रबन्धकको सेवा शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ को विनियम २२ मा उल्लिखित अवस्था मध्ये कुन आरोपमा कारबाही गर्न लागिएको हो ?” उनले प्रतिप्रश्न गरेका छन्।
उनका अनुसार कुनै स्पष्ट आरोपविना गरिएको कारबाही प्रक्रिया स्वेच्छाचारी मात्र नभई अन्यायपूर्ण समेत छ। “कसुर नै एकिन नभएको स्पष्टीकरणबाटै प्रकट भएको छ। स्पष्टीकरणमा कसुर एकिन नगरी गोष्ठवारा आरोपमा कारबाही गर्न मिल्दैन,” घिसिङले थपेका छन्।
मन्त्रालयले किन र के आधारमा कारबाही अघि बढाउन खोजेको भन्ने विषय स्पष्ट नभएपछि घिसिङले त्यसबारे विधिसम्मत जवाफ दिएका छन्। यो घटनाले नेपाल विद्युत् प्राधिकरणभित्रको प्रशासनिक विवादलाई थप चर्काएको छ।