विराटनगर । कोशी प्रदेश सभामा आजको बैठकले ‘प्रदेश बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ ।
प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिं हाङ्गामले सो विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव गरेका थिए । विधेयकको दफावार छलफलमा कुनै पनि सांसदले सहभागिता नजनाएपछि सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सो विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरे ।
यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले कोशी प्रदेश ‘प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफमा विधेयकलाई समयसापेक्ष बनाउन संशोधन गर्नु परेको जानकारी दिए । उनले सो विधेयकले वातावरणलाई सन्तुलन बनाउन र जलवायु परिवर्तनले हुने असरलाई कम गर्न मद्दत गर्ने भन्दै विधेयकले वातावरण अध्ययन प्रतिवेदनलाई जिम्मेवार बनाउन सहयोग गर्ने धारणा राखे ।
विशेष समय
विशेष समयमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका तर्फबाट प्रेमराज थाम्साङले जैविक विविधता र वित्तीय संघीयताका निम्ति अमेरिकी सरकारबाट आउने अनुदान रोकिनुमा सरकारको प्रतिक्रिया आउनुपर्ने धारणा राखे ।
विशेष समयमै नेपाली काँग्रेस संसदीय दलका तर्फबाट गोपाल तामाङले केबुलकार घटनामा ताप्लेजुङको स्थिति र परिस्थितिलाई साम्प्रदायिक बन्न नदिन सरकार गम्भीर हुनुपर्छ भने ।
शून्य समय
कोशी प्रदेश सभाका सदस्य विनोद राई, गोम्बु शेर्पा, शोभा चेम्जोङ, रामप्रसाद महतो, निरन राई र भक्तिप्रसाद सिटौलाले शून्य समयमा आ–आफ्ना निर्वाचन क्षेत्रमा देखिएका समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो १ः३० बजे बस्नेछ ।