काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कानुन व्यवसायीको व्यावसायिकताप्रति प्रश्न उत्पन्न भएको बताएका छन्।
सर्वोच्च अदालत बार एशोसियनको ५१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश राउतले सयौँ संख्यामा रहेका कानुन व्यवसायीहरूमा अधिकांशलाई व्यावसायिक बनाउनेमा प्रश्न उठेको बताएका हुन्।
यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए। उनले अदालतमा बेथिति वा भ्रष्टाचार देखिए सबै मिलेर नियन्त्रण गर्नुपर्ने बताए। प्रधान न्यायाधीश राउतले संसदले बनाउने कानुन अन्यायपूर्ण वा दोषपूर्ण भए अदालतले त्यसमा केही गर्न नसक्ने भएकाले कानुन बनाउनुअघि नै सरोकारवाला विषयमा कानुन व्यवसायीहरूले स्वच्छ कानुन निर्माणका लागि लबिङ गर्न सक्नुपर्ने बताए। अहिले धेरै कानुनहरू दोषपूर्ण रहे पनि अदालत हात बाँधेर बस्नुपरेको उनको भनाइ छ।
प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतको रिफर्म गर्ने कुरामा कुनै सम्झौता हुन नसक्ने स्पष्ट पारे। उनले अदालतको फैसला र आदेशका त्रुटिपूर्ण भए सच्याउन सकिने उल्लेख गर्दै फेसबुकमा जथाभाबी बोल्नुभन्दा उचित सुझाव दिन कानुन व्यवसायीलाई आग्रह गरेका छन्।