काठमाडौँ । नेपाली काँग्रेसका सभापति, उपसभापति र महामन्त्रीले चैतभित्र महाधिवेशन गर्न नसके पुनः अवधि थप्न नसकिने भ्रातृ संस्थाका अध्यक्षहरूलाई जानकारी गराएका छन् ।
पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार तदर्थ समितिमा रहेका सबै भ्रातृ संस्थालाई चैतभित्र महाधिवेशन गर्नुपर्ने छ ।
पार्टीले अन्तिम पटक भन्दै चैत मसान्तसम्मका लागि सबै तदर्थ समितिको म्याद थपेको थियो । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी, भ्रातृ संस्थाको निर्देशक समिति र भ्रातृ संस्थाका प्रमुखहरूको बैठक बसेको थियो ।
सभापति शेरबहादुर देउवा सहभागी बैठकमा भ्रातृ संस्थाका निर्देशक समितिका संयोजक र संस्थाका प्रमुखहरूले अहिलेसम्मको अवस्था ब्रिफिङ गरेका थिए ।
उनीहरूको धारणा सुनिसकेपछि चैतभित्र महाधिवेशन गर्न द्रुत गतिमा काम गर्न सभापति देउवाले निर्देशन दिएको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी गराए ।
महामन्त्री गगन थापाले भ्रातृ संस्थाको अधिवेशन गराउन पार्टीले सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । थापाले चैतपछि अवधि थप्न नसकिने बताए ।
महाधिवेशन गराउन समस्यामा रहेका भ्रातृ संस्थाहरूको सन्दर्भमा सभापति देउवासँग छलफल गरेर निकास दिने महामन्त्री थापाले वचन दिए ।
काँग्रेसका १३ भ्रातृ संस्थामध्ये निर्वाचित कार्यसमिति दुई वटामा मात्रै छ । आजको छलफलमा महिला संघ र दलित संघमा महाधिवेशन गराउन कठिन रहेको ब्रिफिङ गरिएको थियो ।
दलित संघको अधिवेशन गराउनका लागि पार्टीले गठन गरेको निर्देशक समिति र संघबीचमै विवाद बैठकमा देखिएको सहभागी नेताले बताए । दलित संघको अधिवेशन गराउनका लागि पार्टीबाट सहमहामन्त्री जीवन परियारलाई निर्देशक समितिको संयोजक तोकिएको छ ।
चैत ५ मा स्ववियु निर्वाचनमा लाग्नु परेकाले नेविसंघले पनि चैतभित्र महाधिवेशन गराउन कठिन रहेको बैठकमा छलफल भएको थियो । महिला संघमा सदस्यता र कतिपय जिल्लामा समानान्तर कार्यसमिति भएकाले समस्या रहेको निर्देशक समिति र संस्थाका प्रमुखले जानकारी गराएका थिए ।
महिला संघमा केही जिल्लामा नेता डा. शेखर कोइराला पक्षले समेत अध्यक्ष तोकेको छ । २र३ भ्रातृ संस्था बाहेक अन्यको तोकिएको समयमा अधिवेशन गराउन समस्या नरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी गराइन् ।
दलित संघमा अध्यक्ष नै समस्याका रूपमा रहेको बैठकमा विषय उठेको थियो । दलित संघमा काम नगरेका लोकबहादुर विश्वकर्मालाई संघको नेतृत्व दिँदा समस्या उत्पन्न भएको बैठकमा सहभागीले बताएका थिए ।