काठमाडौँ । नेपालबाट जापानमा दक्ष केयर गिभर जनशक्ति लैजाने बाटो खुल्दै गएको छ । आज काठमाडौँमा नेपाल र जापानका विभिन्न संस्थाहरूले यसबारेको सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमै भाषा र सीप सिकाएर जापानको केयर गिभर क्षेत्रमा लाने र पाँच वर्ष काम गरेर फेरि नेपालमै वा अरु देशमा त्यही काम गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने योजनासहित भएको सम्झौता आज विभिन्न संस्थाहरूले आदानप्रदान गरेको बताएका छन् ।
जापानको तर्फबाट जेनकाउ रिसर्च इस्टिट्युट, कोजाइके कोसान, प्रोगेसिफ स्टाफ एजेन्सी र नेपालको तर्फबाट काठमाडौँ विश्वविद्यालयको स्कुल अफ मेडिसिन साइन्स, सन एन्ड कम्पनी र सन्दिपनी ग्रुप अफ कम्पनिज्ले हस्ताक्षर गरेका थिए ।
सोही क्रममा जापानमा केयर गिभर भएर जाने तयारीमा रहेका दुई नेपाली नितिसा चलाउने र मोनिका गुरुङ पनि उपस्थित भएका थिए । जापानका ती कम्पनीहरूका प्रतिनिधिहरूले जापानमा २५ हजारसम्म नेपालीहरू केयरगिभरमा जाने बाटो खुला भएको बताए ।
आगामी सात वर्षमा जापानको बुढ्यौली जनसंख्यालाई दश लाख केयर गिभर चाहिने भन्दै दक्षिण एसियाका नेपाल, भारतलगायतका देशहरूबाट लगिने जापानी प्रतिनिधिहरूले बताए । अहिले पनि विभिन्न देशका ५० जना विदेशी केयर गिभरको रूपमा आफ्नो कम्पनीमा जोडिएको वक्ताहरूले बताए ।
कार्यक्रममा बोल्दै नेपाली वक्ता डा। विशाल ढकालले जापानको समस्या बुढ्यौली र केयरगिभर अभाव भएर समाज र सरकारलाई समस्या भएको बताए । नेपालको समस्या जागिर र जागिरको दक्षता नभएर आर्थिक क्षेत्रमा असर गरेको उनको भनाइ छ ।
जापान र नेपालका समस्या एक-अर्काबाट समाधान गर्न केयरगिभर कार्यक्रम महत्त्वपूर्ण हुने डा. ढकालले बताए । उनले भने, ‘अब सीप नभएका अदक्ष कामदार होइन, दक्ष र सीपयुक्त कामदारहरू जापानमा केयर गिभरको रूपमा लैजान सकिन्छ ।’