काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको बताएका छन् ।
जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री ओलीले परिवर्तन र संविधान नै खारेज गर्न चाहेको बताएका हुन् । ‘हामीले धेरै पटक भनिनै सकेका छौँ । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’
अध्यक्ष ‘प्रचण्ड’ले यसअघि पनि दुई-दुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरेका छन् ।
उनले आफूले मधेशी जनताको माग बमोजिम दुई पटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै भएको बताए । ‘मैले मधेशी जनताका लागि दुई पटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।
‘प्रचण्ड’ले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरेका छन् ।