काठमाडौँ । शिक्षक सेवा आयोगको एक महिलासहित २ सदस्यका लागि ३१ जनाको उम्मेदवारी दर्ता भएको छ । आयोगको सदस्य पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले सार्वजनिक गरेको नामावली अनुसार ५ जना महिला र २६ जना पुरुषको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गर्नेमा ७ जना पूर्व सहसचिव रहेका छन् । जसमा ४ जना शिक्षा सेवातर्फका पूर्व सहसचिव हुन् ।
माघ १ देखि १५ सम्म दरखास्त दिने समय सीमा तोकिएकोमा परेका दरखास्तमाथि छानबिन गर्दा शिक्षा ऐन, २०२८ को दफा ११ र प्रकाशित सूचनामा उल्लिखित शर्त पूरा गरेका ३१ जनाको दरखास्त स्वीकृत भएको सिफारिस समितिले जनाएको छ ।
दरखास्त दिनेमा पूर्व सहसचिव दुर्गाप्रसाद अर्याल, केशवप्रसाद दाहाल, रामशरण सापकोटा, डा. भोजराज शर्मा, हीरामणि शर्मा, थानेश्वर गौतम, युवराज सुवेदी रहेका छन् । जसमा अर्याल, दाहाल, सापकोटा र शर्मा शिक्षा सेवाका पूर्व सहसचिव हुन् ।
यस्तै अरु दरखास्त दिनेमा बबिता लाभ, खड्गप्रसाद खरेल, चन्द्रप्रसाद मैनाली, शुकदेव सापकोटा, पवित्रा सुवेदी, डा. रामचन्द्र पाण्डे, भगवती भण्डारी, विष्णु घिमिरे, भवानीप्रसाद पन्त, यादवकुमार तिमल्सिना, चन्द्रनारायण यादव, डा. मीनबहादुर शाही, विष्णुप्रसाद भण्डारी र अर्जुनबहादुर रायमाझी रहेका छन् ।
यस्तै नवराज सापकोटा, टंकप्रसाद गौतम, डा. लाक्पा शेर्पा, कृष्णप्रसाद नेपाल, डा. जानुका नेपाल, रामनारायण शाह, डा. दीपक खनाल, गोपीचन्द्र पौडेल, गीता गिरी र खेमनाथ पोख्रेल रहेका छन् ।