काठमाडौँ । बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी गाउँपालिका-७ घर भएका हाल काठमाडौँ महानगरपालिका-१३ बाफल बस्ने ३२ वर्षीय सुशील नेपाल र बाँके बैजनाथ गाउँपालिका-३ गाभर घर भएका हाल काठमाडौँ महानगरपालिका-२९ अनामनगर बस्ने २७ वर्षीया सुष्मिता परियार रहेका छन् ।
प्रहरीका अनुसार जिल्ला अदालत काठमाडौँबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई सोही फैसलापछि फरार रहेका सुशीललाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ बाफलबाट शुक्रबार पक्राउ गरेको हो ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले जिल्ला अदालत सुर्खेतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेकी सुष्मितालाई पनि काठमाडौँ अनामनगरबाट सोमबार पक्राउ गरेको हो ।
सुशीललाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाइएको छ भने सुष्मितालाई जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।