काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बेपत्ता पारिएका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भए पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।
नेपाल समाजवादी विद्यार्थी युनियनको दोस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले पुराना राजनीतिक दलहरू सुध्रिने अवस्था नरहेको बताए ।
नेता भट्टराईले माओवादीका अध्यक्ष ‘प्रचण्ड’लाई लक्षित गर्दै भने, ‘जति छोपे पनि बिरालोले म्याउँ गरिहाल्छ । उहाँले बेलाबेला म्याउँ गरिराख्नुभएको छ । बेपत्ता परिवारलाई न्याय दिन उहाँहरूसँग हामीले सहकार्य गरेका हौँ, तर उनीहरू हामीलाई सिध्याउने षड्यन्त्रतिर लागे । त्यसकारण त्यो कुरा सफल नभएको हो । अहिले हामी कतै गएका छैनौँ । जाने वाला छैनौँ ।’
उनले भने, ‘हामीले जुन वैकल्पिक शक्ति निर्माण गरेका छौँ, त्यसमा केही बाँगोटिंगो भयो । त्यसमा हामीले बेइमानहरूसँग सहकार्य गरेर ठगिएका मात्र हौँ, हामीले अरु केही गल्ती गरेका होइनौँ । हामीले सिद्धान्त र विचार छोडका होइनौँ । खालि के हो भने संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । राजावादीहरूले त्यसलाई मन पराएका छैनन् । अर्को हाम्रो ठूलो छिमेकीले हाम्रो संविधानलाई स्वीकार पनि गरेको छैन ।’
नेता भट्टराईले पुराना राजनीतिक दलहरूसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको पनि बताए ।
उनले थपे, ‘हामीले एकता भनेका छैनौँ । बाबुराम भट्टराईले पुराना पार्टीहरूसँग मिल्ने कहिल्यै भनेकै छैन । सहकार्य गरेको हो त । मधेशवादी र क्षेत्रीय दलहरूसमेत आन्दोलनबाट आएका हुनाले सहकार्य गरिएको हो, तर उहाँहरू धेरै पर पुगिसक्नुभएको छ ।’
उनले सहकार्य गरेर गल्ती नगरेको भए पनि बेइमानहरुबाट ठगिएको टिप्पणी गरेका छन् ।