काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् ।
नेपाली काँग्रेस र नेकपा एमालेको दुई दलिय जिल्ला संयन्त्रको प्रदेशस्तरीय संयुक्त बैठकलाई कपिलवस्तुमा सम्बोधन गर्दै उनले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताएका हुन ।
‘प्रदेश सरकार बन्नुअघि र बनिसकेपछि विकासको अवस्था के थियो, एक पटक फर्केर हेरौँ । अहिले गाउँ-गाउँमा भइरहेको विकासको काम प्रदेश सरकारले नै गरेको हो’, मुख्यमन्त्री आचार्यले भने, ‘प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथि प्रदेश नै हो ।’
योजना निर्माणदेखि कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउने गरी सरकारले भूमिका बढाएको उनको भनाइ छ । ‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उति बेलाको गल्तीले अहिले समस्या परेको छ’, उनले भने, ‘आगामी बजेट ३३(३४ अर्बको हाराहारीमा ल्याउँदा प्रदेशले लय समात्छ ।’
मुख्यमन्त्री आचार्यले चालू आर्थिक वर्षमा सरकारले पूरक बजेट नल्याउने स्पष्ट पारे । चालू आर्थिक वर्षको बजेट सहमतिका साथ आएको उनले बताए ।
बैठकमा आएका सुझावहरूलाई सरकारले आत्मसात् गर्दै सरकारको कामलाई गति प्रदान गर्ने गरी भूमिका बढाइरहेको बताए ।
‘चालू आर्थिक वर्षको बजेट साझा दस्ताबेज हो । यस वर्ष सरकारले पूरक बजेट ल्याउँदैन । बजेट कार्यान्वयनलाई गति बढाएका छौँ’, मुख्यमन्त्री आचार्यले भने, ‘योजना छनोटमा देखिएका बेथिति रोक्न पाँच लाखभन्दा माथिका योजना प्रतिस्पर्धाबाट कार्यान्वयन गर्न निर्मम निर्णय लिनु परेको हो ।’
टुक्रे योजना बनाउने र उपभोक्ता समितिको नाममा कार्यान्वयन गर्दै व्यक्तिगत लाभ लिने प्रवृत्ति देखिएपछि यसखाले निर्णय लिनुपरेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।
उनले गत वर्षको दायित्व भुक्तानी गर्ने काम भइरहेको जानकारीसमेत दिए ।
नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न बैठकमा दुइटै पार्टीका जिल्ला अध्यक्षहरूले जिल्लागत रिपोर्टिङ गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधिसभा सदस्यलगायतको सहभागिता थियो ।