काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसको प्रिन्सिपलका लागि आवेदन दिएका दुई जनाको अन्तर्वार्ता सोमबार हुने भएको छ ।
छनोट तथा सिफारिस समितिले आवेदन दिएका दुई जना प्रा. डा. अक्कलदेव मिश्र र सहप्राध्यापक डा. उद्धव सिग्देलको सोमबार (भोलि) अन्तरवार्ता लिन लागेको हो ।
छनोट समितिले प्रिन्सिपलका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो तर दुई जनाको मात्र आवेदन परेकाले उनीहरूको अन्तरवार्ता लिएर सिफारिस गर्न लागेको हो । प्रिन्सिपलका लागि प्राध्यापकहरूले अरुचि देखाएपछि न्यून आवेदन परेको हो ।
दुई जनाको मात्र आवेदन परेपछि छनोट समितिको अनुरोधमा शिक्षाध्यक्षको कार्यालयले दोस्रो पटक आवेदन माग गरेको थियो । तर दोस्रो पटक माग गर्दा विवाद भएपछि पहिलो आवेदनकै आधारमा सिफारिस गर्ने गरी दोस्रो आवेदन खारेज गरिएको थियो ।