डोटी । सुदूरपश्चिम प्रदेश कला संस्कृति, धार्मिक एवं पर्यटकीय क्षेत्रको रूपमा धनी मानिन्छ ।
सुदूर पश्चिमेली देउडा, ठाडी भाका, हुड्केली, छलिया भुवा, स्थानीय मेला,जात्रा यस क्षेत्रलाई पहिचान दिने संस्कृतिको रूपमा रहेका छन् । पछिल्लो समयमा परम्परागत रूपमा मनाउँदै आएको रनपुतला पर्व पनि छोरीहरूलाई माइतीसँग भेटघाट गराउने तथा सुदूरको पहिचानको रूपमा चिनिँदै आएको छ ।
रनपुतला पर्वमा आमा र छोरीहरू बिचमा गीत मार्फत पुतला खेल खेल्दै सवाल जवाफ हुने गर्छन् । आमाले गीतमार्फत छोरीहरूलाई तिमीहरूले अर्काको घरमा जानुपर्छ, घरबार चलाएर खानुपर्छ तिमीलाई आवश्यक गाई भैँसी, अन्नपात सबै दाइजो दिन्छौ भनेर आमाले गीतमार्फत भन्ने गर्छन् भने छोरीहरूले पराई घर विवाह गरेर जान मान्दैनन् अर्काको घरमा दुःख हुन्छ, नयाँ, ठाउँ, नयाँ मानिस हामी कसरी बस्ने के खाने, के लाउने भनेर गीत मार्फत वेदना पोख्ने गर्छन् । यो पर्वलाई छोरी चेलीले आफ्ना वेदना पोख्ने पर्वका रूपमा समेत लिने गरिन्छ ।
परापूर्व कालदेखि मनाइँदै आइएको रनपुतला पर्वमा माइतीघर छाडेर कर्म घर जाने क्रममा हुने छोरी चेलीहरूको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको हुन्छ । रनपुतला गाउँ नजिकै रहेको पँधेरोमा लगेर विसर्जन गरिन्छ । परम्परागत रूपमा मनाइँदै आएको यो पर्वमा पुतला नाच खेल्दै छोरीले घरमा भोगेका पीडा तथा माइती घरमा विवाह नभएका युवतीले भोगेका पीडा समेटेर बनाइएका गीत गाइने चलन रहेको पाइन्छ ।
छोरीहरूले गीतमार्फत भन्छन्
(बुवा ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।
ईजु ज्यूका झोली बाट पुतला जगाई ल्यायौ ।।
दाजी ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।
भाउजू ज्यूका झोलीबाट पुतला जगाई ल्यायौ ।।)

छोरीहरूले गीतमार्फत यसरी तपाईँहरूले हामीहरूलाई पाल्यौ ठुली बनायौ अब यसरी हामीलाई पराई घरमा नपठाई देऊ, हामीलाई दुःख हुन्छ भनेर गीतमार्फत वेदना गर्छन् । तर छोरीहरूको बिलौनाको अगाडी आमा बुवाको केही लाग्दैन विवाह गर्ने उमेर भएको छोरीलाई पराई घरमा विवाह गरेर पठाउनु पर्छ भन्दै घरमा बरौनी गर्न आउँछन् र छोरीको विवाह गर्नको लागि लगनगाँठो कसिन्छ । अनि फेरी गीत मार्फत आमा छोरीको यसरी संवाद हुने गर्दछ ।
(छोरी: हिउँदै ओखल हिउँदै मुसल म कसरी रहुँला ईजु ।
आमा: तिम्रो कर्ममा उही लेखियो जानै पर्यो भागा छोरी ।।
छोरी: तिथिका भयालो बाटै फर्की आउला म कसरी रहुँला ईजु ।
आमा: तमरा कर्मले उही सितायो जानै पर्यो भागा छोरी ।।
छोरी: मालै बरौनी आउलान् ईजु सम्झी दिऊ भनुँला बुवा सम्झी नभई नदिया ।
आमा:गोठको गाई दिउला माल पयल जानै पर्यो भागा छोरी ।।
आमा: तमरो खान्की उही पुर्याउला पराई घर जानै पर्यो भागा छोरी ।।।)
माइती घरबाट विवाह गरेर पराई घर गएकी र घरमा रहेकी छोरी चेलीहरूले माघी पर्वका समयमा आफ्नो माइती घर आई वर्षको एक पटक रनपुतला खेल खेल्ने चलन रहिआएको दिपायल सिलगढी नगरपालिका-७ का स्थानीय ऐश्वर्या विष्टले बताइन् । पछिल्लो समयमा डोटी लगायतका सुदूरपश्चिमका अधिकांश जिल्लाहरूमा रनपुतला पर्वलाई विशेष महत्वका साथ देवीदेवताको पर्व वा छोरी बेटी हरूलाई माइती घरपरिवार सँग भेटघाट गराउने मिलन पर्वको रूपमा पनि लिने गरिएको समेत विष्टले बताइन् ।
यस पर्वमा छोरी चेलीहरूले राम्रो तथा सफा गुन्यू चोली लगाएर पुतली जस्तै भएर सजिने र गाउँ गाउँमा पुतली नाचे जस्तै गरी देउडा लगायतका पुतला खेल खेल्ने चलन रही आएको छ ।

सुदूरपश्चिमको परम्परा अनुसार पुस १५ गते वर्ष भरिको लामो रातको रूपमा लिई रातभरि गाउँ खाने कथाहरू भन्ने, जागाराम बस्ने, तरुल, सखरखण्ड खाने रातको रूपमा लिने संस्कृति रहेको छ । त्यही दिनको रातदेखि रनपुतला पर्वको सुरुवात भएको रनपुतला जगाइने भन्ने गरेको अर्की स्थानीय पदमा देवी विष्टले बताइन् । उनले भनिन् पुस १५ देखी माघ ३ गते सम्म रनपुतला जगाएको स्थानमा प्रत्येक रात देउडा खेल खेलिने, मिठा मिठा परिकारहरू पकाइने एक आपसमा रमाइलो गर्ने गरिन्छ ।
माघ ३ गते रनपुतला खेल खेल्दै नजिकको पानी पँधेरोमा लगेर विसर्जन गरे देवी देउता खुसी हुने चलन रहेको बताइन् । कतिपय स्थानहरूमा माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा विसर्जन गरिन्छ भने कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन रहेको पाइन्छ ।
पछिल्लो समयमा रनपुतला पर्व सुदूरपश्चिमका पहाडी जिल्ला अछाम, बझाङ, बैतडी, बाजुरा, दार्चुला, डडेलधुरा तथा डोटीका विभिन्न स्थानहरूमा धूमधामका साथ मनाइने गरिन्छ ।
