काठमाडौँ । मोरङ ग्रामथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पालिका अध्यक्षले स्पष्टीकरण सोधेका छन्। गाउँपालिका अध्यक्ष नमोनारायण माझीले गैरकानुनी उत्खनन् रोक्न सहयोग माग्दै प्रहरीलाई पत्र लेखेका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेलसँग स्पष्टीकरण सोधेका हुन्।
गाउँपालिका अध्यक्ष माझीले प्रहरीलाई किन पत्र लेखेको भन्दै प्रमुख प्रशासकीय अधिकृत पौडेलसँग पत्र लेख्नुपर्ने कारणबारे स्पष्टीकरण मागेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत पौडेलले पुस ८ मा ग्रामथानकै झोराहाटमा रहेको प्रहरी कार्यालयलाई पत्र लेखेका थिए।
उनले प्रहरीलाई लेखेको पत्रमा भनिएको छ, ‘ग्रामथान गाउँपालिका वडा नं. २ अन्तर्गतका विभिन्न नहर, सडक लगायतका सार्वजनिक स्थलबाट गैरकानूनी रूपले माटो उत्खनन् भइरहेको भन्ने जनगुनासो आएको तथा गाउँपालिकाबाट अनुगमन गर्दा समेत उत्खनन् भएको पाइएकोले त्यस प्रकारको गैरकानूनी उत्खनन् कार्य रोकी उत्खनन् कार्यमा संलग्न सवारीसाधनहरू नियन्त्रणमा लिई दिनुहुन अनुरोध छ।’

तर, पुस ११ मा अध्यक्ष माझीले प्रहरीलाई पत्र किन लेखेको कारण पेश गर्न भन्दै प्रशासकीय अधिकृतलाई पत्र लेखेका हुन्।
अध्यक्षले मागेको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘यस ग्रामथान गाउँपालिकाबाट मिति २०८१/०९/०८ गतेको दिन चं. नं. १०१५, मिति २०८१/०९/०८ को गैरकानूनी उत्खनन् कार्य रोक्का गर्ने सम्बन्धमा प्रहरी चौकी, झोराहाटलाई काटिएको पत्र के-कति कारणले काटिएको होरु स्पष्ट खुलाई दिन हुन जानकारीको लागि अनुरोध छ।’
