एक–कुखुरी काँ
कुखुरी काँ
मल चिनी खाँ
मल चिनी खोइ ?
मन्त्रीले खायो
खोइ मन्त्री ?
क्वार्टरमा गयो
खोइ क्वार्टर ?
पुलिसले घे¥यो
खोइ पुलिस ?
मान्छे खेद्न गयो
खोइ मान्छे ?
जुलुसमा गयो
खोइ जुलुस ?
तितर वितर भयो ।
दुई–फूल
मैले फूल हेरे
तिनी मुस्कुराइन
शिर शिर हावा
एकान्त
स्यानो सल्लाको बोट
मेरी सहेंली
जीवनकै प्रतीक फूल ।
मैले फूल सुम्सुम्याँएँ
र माया गरे बोटहरूलाई
र आह्वान गरे
मन भरि फूल
भत्काएर इष्र्याका बाँधहरू ।
फूल फुल्न चाहन्छे
निर्जन ढाप र नागीहरूमा
जहाँ हिमफूलहरु फक्री रहन्छन्
मालिङ्गोको बाँसुरी बजाउँदै
तुषारोको सिरानी लगाएर ।
नील काँडा
तिमी सुरक्षा कवच बन
अब हिमाल मुस्कुराउँछन्
फूलको सुनौलो बिहानीमा ।
तीन–गिताङ्गेको गीत जिन्दगी
लोथर्के
लाटोकोसेरो
हुटिट्याउँ
र मेरो जिन्दगी
तुलना गर्नु छ मैले
कसरी तौलौँ जिन्दगी
लोथर्केको पुच्छर
लाटोकोसेरोको अनुहार
हुटिट्याउँले थामेको
या मैले हुटिट्याउँलाई थामेको
म जान्न चाहन्छु
जवाफ दिने कल्ले ?
जिन्दगीमा
धेरै पटक भ्यागुताहरू उफ्रे
र थोरै पटक
म भ्यागुताहरू पछार्न सकेँ
सर्पहरू सलबलाउँदैछन् ।
धेरै पटक चराहरूले ठुङ्गे
र थोरै पटक
मैले गुलेलीले चराहरू हिर्काउन सकेँ
गिद्धहरू सिनो कुरी रहेछन् ।
जिन्दगी कसैको सहारा
जिन्दगी कसैको आहारा
के हाम्रो नियति यहीँ हो
म जान्दिँन
शायद जिन्दगी
गिताङ्गेको गीत जस्तै त छ
मरी लानु के पो छ र ?
गरौँ हाँसखेल ।
सुन्दरहरैैंचा –६ दुलारी, मोरङ