काठमाडौँ । राष्ट्रिय सेवा दल, नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था (एनसीसीपूर्व विद्यार्थी संघ नेपाल) को सातौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
बिहीबार जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा नेपाली सेनाका प्रधान सेनापति तथा राष्ट्रिय सेवा दल, नेपालका सह संरक्षक अशोक राज सिग्देलले एनसीसी पूर्व छात्र संघ नेपालसँग आबद्ध सबैलाई संस्थाको वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गरे । उनले अनुशासित, नैतिकवान्, इमानदार, बफादार, कर्तव्यनिष्ठ तथा असल देशभक्त युवा जनशक्ति निर्माणमा राष्ट्रिय सेवा दलको कार्यक्रम सहयोगी सिद्ध रहेको बताए ।
सो अवसरमा प्रधान सेनापतिले राष्ट्र सेवामा समर्पित अनुशासित र बफादार युवा जनशक्ति तयार गर्ने कार्यलाई अभियानको रूपमा सञ्चालन गर्न राष्ट्रिय सेवा दल कार्यक्रमलाई स्थानीय तहसम्म पुर्याउन नेपाली सेनाले पहल गरिरहेको उल्लेख गरे । नेपाल सरकारको प्राथमिकतामा रहेको राष्ट्रिय सेवा दल कार्यक्रमबाट दीक्षित क्याडेटहरुको सङ्गठन एनसीसी पूर्व छात्र संघ, नेपालबाट राष्ट्र सेवामा भएका विभिन्न गतिविधिहरूबाट नेपाली जनताको आशा र भरोसा वृद्धि भएको उल्लेख गर्दै प्रधान सेनापतिले राष्ट्रप्रति समर्पित नागरिक तयार गर्न राष्ट्रिय सेवा दलले वहन गरेको उल्लेखनीय भूमिकाको प्रशंसा समेत गरे ।
कार्यक्रममा पूर्व छात्र संघ का प्रमुख सल्लाहकार निगम हुमागाँइले संस्थाको वार्षिक प्रतिवेदन पेस गर्दै नेपाली सेनाको छत्रछायामा सेनाकै विभिन्न युनिटहरूबाट राष्ट्र सेवाको पथमा प्रशिक्षित हुन पाउनु समस्त राष्ट्रिय सेवा दलका क्याडेटहरुलाई गौरवको विषय भएको बताए । राष्ट्रिय सेवा दल, नेपालका निमित्त कार्यकारी महानिर्देशक सहायक रथी श्री महेश कुमार थापाले धन्यवाद मन्तव्य राख्दै पूर्व छात्र संघका सदस्यहरूलाई बधाई र शुभकामना दिए ।
बलाध्यक्ष रथी श्री प्रदीप जङ्ग के.सी., रथीवृन्द,एनसीसी पूर्व छात्र संघ नेपालका पदाधिकारीहरूका साथै तालिमरत छात्र/छात्रा एवं प्रशिक्षक सकल दर्जाको उपस्थिति रहेको कार्यक्रममा एनसीसी पूर्व छात्र संघ नेपालका क्याडेट छात्र/छात्राहरूबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
वि.सं.२०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दल नेपालबाट प्रशिक्षित पूर्व विद्यार्थीहरूको संस्था वि.सं. २०७५ मा स्थापना भएको हो । हाल देशका विभिन्न ७५ वटा जिल्लाहरूमा राष्ट्रिय सेवा दलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन भई रहेको छ । अहिलेसम्म ७८ हजार भन्दा बढी छात्र/छात्राहरूले सिनियर तथा जुनियर डिभिजन तालिम प्राप्त गरिसकेको नेपाली सेनाले जनाएको छ ।
