चितवन । चितवनको राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो ।
नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै रु. २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिए । अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उनले बताए । उनले, “अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ ।”
राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरूको लागि अस्पताल अपरिहार्य रहेको छ । अति विपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ । भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्न सक्ने सहयोगबारे चासो देखाएको लामाले जानकारी दिए ।